
२२ असार, काठमाडौं । रोटरी क्लब अफ काठमाडौं नर्थको ३३ औँ पदस्थापना तथा रोटरी वर्ष २०२६–२७ का नयाँ नेतृत्वको सपथ तथा पदभार ग्रहण समारोह सम्पन्न भएको छ ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) का डिस्ट्रिक्ट गभर्नर नोमिनी (डिजिएन ) रोटेरियन अमित गिरिको प्रमुख आतिथ्यता तथा क्लबका नवनिर्वाचित प्रेसिडेन्ट रोटेरियन सीता पौडेलको अध्यक्षतामा शनिबार धुम्बाराहीस्थित होटल रमादामा सो समारोह सम्पन्न भएको हो ।

रोटरी वर्ष २०२६–२७ का असिस्टेन्ट गभर्नर रोटेरियन ज्ञानेन्द्र भारी तथा निवर्तमान असिस्टेन्ट गभर्नर रोटेरियन मञ्जु धमला र क्लबका इमिडियट पास्ट प्रेसिडेन्ट रोटेरियन प्रदीप थापा विषेश अतिथिको रुपमा रहेका थिए ।
क्लबका पूर्व प्रेसिडेन्टहरु, रोटेरियनहरू,रोटरी परिवार,रोटर्याक्ट तथा इन्टर्याक्टक्लबका प्रतिनिधिहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको सो समारोहमा प्रमुख अतिथि डिजिएन गिरीले नवनिर्वाचित प्रेसिडेन्ट सीता पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

नयाँ नेतृत्वलाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनले तीन दशकभन्दा बढी समयदेखि समाजसेवामा समर्पित रोटरी क्लब अफ काठमाडौं नर्थले नयाँ नेतृत्वमा अझ प्रभावकारी सेवा परियोजना सञ्चालन गर्दै रोटरीको सार्वजनिक छवि थप सुदृढ बनाउने र समाजमा दिगोविकास सहितको सकारात्मक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

पदभार ग्रहणपछि प्रेसिडेन्ट पौडेलले आफ्नो कार्यकालमा सेवा परियोजनाको संख्याभन्दा गुणस्तर र समाजमा पार्ने दीर्घकालीन प्रभावलाई प्राथमिकता दिइने बताइन्। उनले रोटरीले दिएको ‘निजी स्वार्थ भन्दा माथि उठेर सेवा’ भन्ने आर्दशलाई आत्मसाथ गर्दै समुदायको वास्तविक आवश्यकताका आधारमा क्लबलमार्फत गरिने सेवा परियोजनाहरु सञ्चालन गरिने स्पष्ट पारिन् ।
रोटरीयनहरुले आफ्नो पेशा,व्यवसाय र व्यवहारमा रोटरीका ४ विभिन्न मार्गदर्शन सिद्धान्तलाई आधार मानेर अघि बढ्ने गरेको स्मरण गराउँदै उनले हरेक जो कोहीले रोटरीको यो सिद्धान्तलाई बोकेर हिड्दा जिवनमा आइपर्ने कठिनाइ र समस्यालाई सजिलै समाधान गर्न सकिने जिकिर गरिन् ।
पदभार ग्रहण गर्दै उनले रोटरीमा पद केवल जिम्मेवारी मात्र नभएर रोटरीयनहरुले आत्मसाथ गर्दै आएको आर्दश,मुल्य र मान्यताहरुलाई कर्मबाट पुरा गर्ने अवसर र दायित्वको स्वीकार एवम् प्रतिबद्धता रहेको तर्क गरिन् ।
समाज परिवर्तनको दरिलो आधार भनेको धन नभएर सेवा गर्ने मन हो भन्दै उनले सेवाभाव भएका सबैलाई यस अभियानमा एकताबद्ध हुन् र समाज परिवर्तनमा योगदान गर्न आह्वान गरिन्।
सो अवसरमा उनले रोटरी वर्ष २०२६–२७ का बोर्ड सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन्।



पदस्थापनापछि प्रसिडेन्ट पौडेलले क्लबको १४०० औँ नियमित बैठक संचालन गरेकी थिइन् । बैठकमा नयाँ नेतृत्वप्रति शुभकामना व्यक्त गर्दै विभिन्न रोटेरियन तथा सहभागिहरूले नगद तथा अन्य सहयोग गरी रु. ६० हजारभन्दा बढीको सनसाइन योगदान गरेका थिए,जसमा नगद योगदान मात्र रु. ४० हजारभन्दा बढी रहेको क्लबले जनाएको छ।
उक्त ३३ औं पदस्थापन समारोहमा वरिष्ठ रोटेरियन तथा क्लब मेन्टर रोटेरियन गोपालराज पोखरेललाई रोटरीमार्फत निरन्तर २५ वर्षको समर्पित सेवाको सम्मानस्वरूप विशेष सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रमा पत्रकारिता मार्फत योगदान पु¥याएको भन्दै नेपाली हेल्थका सम्पादक रामप्रसाद न्यौपानेलाई पनि सम्मान गरिएको थियो ।कार्यक्रममा सांस्कृतिक प्रस्तुति अन्तर्गत कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए।

पाष्ट प्रेसिडेन्ट गणेश पौडेलले सञ्चालन गरेको सो कार्यक्रममा आगामी वर्षका प्रेसिडेन्ट विष्णु पौडेलले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।

पाष्ट प्रेसिडेन्ट डा. सुवास घिमिरेले डीजीएनको बायोडाटा तथा उत्तम खड्काले नयाँ सदस्य स्वागत कार्यक्रम र प्रेसिडेन्ट नोमिनि शंकर खड्काले धन्यवाद ज्ञापन गरेका थिए ।


सजेन्ट एट आम्स नृपेन्द्र श्रेष्ठले कार्यक्रमबारे रिर्पोटिंग प्रस्तुत गरेका थिए ।


रोटरी क्लब अफ काठमाडौं नर्थ विगत तीन दशकदेखि शिक्षा,स्वास्थ्य,वातावरण,खानेपानी,शान्ति स्थापना,मातृ तथा शिशु स्वास्थ्य,आधारभूत शिक्षा,रोग निवारण,आर्थिक सशक्तीकरण लगायत रोटरीका सातवटा प्राथमिकता क्षेत्रमा विभिन्न मानवीय सेवा परियोजना सञ्चालन गर्दै आएको अग्रणी सामाजिक संस्थाका रूपमा परिचित छ ।

कार्यक्रममा क्लबको सोभिनियर समेत विमोचन गरिएको थियो।

हालसम्म देशभर रोटरीका १६३ वटा क्लब सक्रिए छन् ।
