
२४ असार, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा रहेको बताएका छन्।
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ केन्द्रीय समितिका प्रतिनिधिहरुसँगको भेटमा मंगलबार उनले सूचनाको हक संरक्षण र संवर्द्धनमा मन्त्रालयले काम गरिरहेको जानकारी गराए।
सूचनाको हकसम्बन्धी ऐन, २०६४, नियमावली २०६५ र यससम्बन्धी अन्य कानुनले व्यवस्था गरेका संयन्त्रलाई सुदृद्ध गरिने मन्त्री तिमिल्सिनाको भनाइ छ।
सरकारले सुशासनलाई मुख्य एजेण्डा बनाएकाले सूचनाको हकका माध्यमबाट भ्रष्टाचार न्यूनीकरणको प्रबन्ध मिलाइने पनि उनले सुनाए।
उनले राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गर्न लागिएको समेत जानकारी दिए ।
