
११ साउन, काठमाडौं । नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज सोमबार औपचारिक उद्घाटन गरिँदैछ ।
नेपालको भौतिक पूर्वाधार विकासमा नयाँ अध्यायका रूपमा हेरिएको सो सुरुङमार्ग निर्माण सुरु भएको करिब ८० महिनापछि सञ्चालनमा आउन लागेको हो ।
आज पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन हुन् लागेको हो ।
आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग तत्काल सबै सवारीसाधनका लागि खुला गरिने छैन। सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै सञ्चालन गर्न दिइनेछ।
करिब तीन महिनासम्म परीक्षणकाल सञ्चालन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्यांकनपछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइनेछ।
सवारीको प्रकारअनुसार शुल्क परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने आयोजनाले जनाएको छ।
नियमित सञ्चालनपछि भने सवारीको प्रकारअनुसार शुल्क लाग्ने जनाइएको छ ।
