साउनको दोस्रो सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो

११ साउन, काठमाडौं ।साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा दर्शनार्थीको भीड लागेको छ।

बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएसँगै पशुपति क्षेत्र मा साउने झरीको प्रवाह नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि पुगेका छन्।

यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनका लागि सहज, सुरक्षित तथा व्यवस्थित दर्शन र विशेष पूजाको प्रबन्ध मिलाइएको छ।

पशुपतिनाथका साथै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुरस्थित मक्खन महादेवलगायत देशभरका सानाठूला शिव मन्दिरहरूमा बिहानैदेखि पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको छ।