सडक सुरक्षा र सहरी सौन्दर्यीकरणका योजना बनाउँदै प्राधिकरण

१२ साउन, काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले मुख्य सहरी सडकको बिच भागमा रहेका तथा सडक विस्तार, यातायात सञ्चालन र सार्वजनिक सुरक्षामा असर पुर्‍याइरहेका विद्युत् पोल स्थानान्तरणका लागि स्थानीय तहसँग समन्वय अघि बढाएको छ।

नेपाल सरकारको आर्थिक वर्ष २०८÷३८४ को कार्यक्रम अन्तर्गत ‘स्थानीय निकायका मुख्य सहरको सडक बिचको पोल सिफ्टिङ तथा सडक सुरक्षा आयोजना सञ्चालन गर्न लागिएको हो। कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहले आफ्नो क्षेत्र भित्र सडकको बीचमा रहेका, दुर्घटनाको जोखिम बढाइरहेका वा सडक विस्तारमा अवरोध गरिरहेका पोलको स्थान पहिचान गरी सम्बन्धित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रसँग समन्वय गर्नुपर्नेछ।

प्राधिकरणले स्थानीय तह, सडक विभाग तथा अन्य सम्बन्धित निकायका योजना र कार्यक्रमसँग दोहोरो नपर्ने गरी प्रस्ताव तयार गर्न आग्रह गरेको छ।प्रस्तावमा सम्बन्धित जिल्ला, स्थानीय तह, वडा, सडक वा स्थानको नाम, स्थानान्तरण गर्नुपर्ने पोलको संख्या, तार तथा आवश्यक सामग्रीसहित अनुमानित लागत र कामको प्राथमिकता उल्लेख गर्नुपर्नेछ।

वितरण केन्द्रले आफ्नो क्षेत्र अन्तर्गत कार्यक्रम तयार गरेपछि प्रादेशिक वा डिभिजन कार्यालय मार्फत कार्यक्रम अगाडि बढ्नेछ। सडकको बीचमा रहेका पोल स्थानान्तरण भएपछि सवारी दुर्घटनाको जोखिम कम हुने, सडक विस्तार र फुटपाथ निर्माण सहज हुने तथा सार्वजनिक यातायात सञ्चालन थप सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

यसै गरी,भूमिगत प्रणाली सञ्चालनमा आएका क्षेत्रमा प्रयोग विहीन तथा अव्यवस्थित रूपमा रहेका पुराना पोल, तार र केबल हटाउने कार्यक्रम पनि अघि बढाइने भएको छ।
यो योजना कार्यान्वयन हुँदा सडक सुरक्षा,विद्युत् पूर्वाधार व्यवस्थापन र सहरी सौन्दर्यीकरणको लक्ष्य सफलतापूर्वक हासिल गर्न सकिने प्राधिकरणले विश्वास लिएको छ।