
६ असोज,काठमाडौं । बागमती प्रदेश सरकारले आगामी साता हुने भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मंगलबार प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले विज्ञप्ति जारी गर्दै असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको हो।
जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै जारी गरिएको विज्ञप्तिमा सम्भावित प्राकृतिक विपद्बाट जोगिन पूर्वतयारी र सावधानी अपनाउन अनुरोध गरिएको छ।
मन्त्रालयका अनुसार प्रदेश सरकार मातहतका सबै निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवालालाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन छ।
