काठमाडौं। रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल —भुटानका पूर्व गभर्नर तथा नेपाल सरकारका पूर्व मुख्य सचिव रोटरीयन तीर्थमान शाक्यको निधन भएको छ ।
नेपाल कानुन समाजका अध्यक्ष समेत रहनु भएका रोटरीयन शाक्यको क्यान्सर रोगको उपचारका क्रममा हिजो बुधबार निधन भएको हो । शाक्यको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको परिवार स्रोतले जानकारी दिएको छ । लोकसेवा आयोगका पूर्व अध्यक्ष समेत रहनुभएका शाक्य ८१ वर्षको हुुनुहुन्थ्यो ।
डेढ महिना अघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किनु भएका शाक्यकी श्रीमतीको पनि करिब तीन महिनाअघि निधन भएको रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल —भुटानका वर्तमान गभर्नर राजेन्द्र प्रसाद ध्वजुले जानकारी दिनुभएको छ ।
रोटरी क्लब अफ काठमाडौं नर्थका पूर्व अध्यक्ष तथा डिष्ट्रिक्ट आरसिसि सल्लाहकार रोटरीयन उत्तम खडका अनुसार नेपालको कानुनको मस्यौदा निर्माण कार्यमा समेत दख्खल राख्ने शाक्य लामो समयदेखि नीजि स्वार्थ भन्दा भन्दा माथी उठेर समाजीक सेवा गर्ने रोटरीको सिद्धान्तलाई आत्मसात् गर्दै विभिन्न किसिमको सामाजिक सेवामा तल्लिन हुनुहुन्थ्यो ।
रोटरी क्लब अफ पाटनमा आबद्ध स्व. शाक्यका दुई छोरा र दुई छोरी छन् ।
