बालाजु बाइसधारा मेलाको व्यवस्थापनको जिम्मा स्थानीयलाई,ऐतिहासिक मेलाका रुपमा मनाउने तयारी

सीता पौडेल (अर्चना)
काठमाडौं । काठमाडौको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलाको व्यवस्थापनको जिम्मेवारी स्थानीयले नै प्राप्त गरेका छन् ।

काठमाडौं महानगरपालिकाको वडा नं १६,बालाजुमा अवस्थित बालाजु बाइसधारा उद्यान परिसरमा हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने सो मेलाको विगतका वर्षहरुमा काठमाडौं महानगरको माताहतबाटै व्यवस्थापन हुँदै आएको थियो ।प्राचीन धार्मिक तीर्थस्थलसँगै सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिदै आएको उक्त मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न स्थानीयहरुले स्वतःस्फूर्त रुपमा वा स्वयंसेवकको भूमिकामा रहेर मेला सञ्चालन तथा व्यवस्थापनमा महानगरलाई सहयोग गर्दै आएको स्थानीय शंकर डंगोलले बताउनुभयो।तर यस वर्षबाट भने स्थानीयहरुले  मेला सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी प्राप्त गरेको हुनाले यो मेला ऐतिहासिक हुने स्थानीयको दावी छ ।

यस वर्षको मेलाको व्यवस्थापनको जिम्मेवारी पाउनुभएका स्थानीय समाजसेवी गौतम प्रसाद प्रजापतिका अनुसार स्थानीय मेला,जात्रा,परम्परा र धर्म,संस्कृतिको मर्मप्रति स्थानीयहरु बढी जानकार हुने हुँदा यस्ता मेला तथा जात्रा र पर्वहरुको स्थानीयले नै अपनत्व लिनु जरुरी हुन्छ। यसै मान्यताका आधारमा आफुहरुले महानगरसँग पटक पटक अनुरोध गरेपछि यस वर्षबाट सो मेला तथा जात्रा सञ्चालन र व्यवस्थापनको जिम्मा प्राप्त गरेको उहाँको भनाई छ ।

यस अघि  स्वतःस्फूर्त रुपमा मेला व्यवस्थापनमा सहयोग गर्दै आएका स्थानीयहरुले  मेला र जात्राको अपनत्व लिने औपचारिक जिम्मेवारी प्राप्त गरेपछि ‘बालाजु बाइसधारा मेला,ल्हुति पुन्ही व्यवस्थापन समिति’ नै गठन गरेर तयारी गरिरहेको सह–संयोजक प्रकाश बलामीले जानकारी दिनुभएको छ । आफ्नो ठाउँको ऐतिहासिक मेला तथा जात्रा सञ्चालन र व्यवस्थापनको जिम्मा पाएपछि स्थानीयहरु पनि महानगरप्रति निकै आभारी र कृतज्ञ बन्दै धन्वयवाद दिएको सह–संयोजक बलामीले बताउनुभयो ।

समितिका सचिव विजय कुमार झाका अनुसार मेलालाई ऐतिहासिक बनाउन विभिन्न उप–समितिहरु समेत गठन गरि जिम्मेवारी बाँडफाँड गरेर मेलाको व्यापक तयारी गरिएको छ । “मेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि व्यवस्थापन समितिले काम गरिरहेको छ”, उहाँले भन्नुभयो । यसै सिलसिलामा प्रचार प्रसार उप –समितिले यहि बैशाख ५ गते बुधबार बाइसधारा परिसरमा पत्रकार सम्मेलन गरेर मेलाको प्रचार÷प्रसारलाई समेत व्यापक बनाएको प्रचार प्रसार उप–समितिका संयोजक रविन्द्र श्रेष्ठले बताउनुभयो ।

उक्त पत्रकार सम्मेलनमार्फत महानगरको वडा नं १६ का कार्यवाहक वडा अध्यक्ष पुष्प महर्जनले आफु पनि स्थानीय मेला तथा जात्राको अपनत्व स्थानीयले नै लिनु पर्छ भन्ने पक्षमा रहेकाले सोही मान्यताका आधारमा बालाजु बाइसधारा मेला(ल्हुति पुन्हि) मेलाको जिम्मेवारी स्थानीयलाई नै हस्तान्तरण गरिएको बताउनुभयो । साथै उहाँले  मेलाको व्यवस्थापनमा लाग्ने सबै आर्थिक पक्षको जिम्मेवारी महानगरले लिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । मेलाअवधिभर संयमित र मर्यादित भएर राम्रो वातावरण कायममा सहयोग पु¥याइदिन  पनि श्रद्धालु भक्तजन तथा सम्बन्धित सबैप्रति कार्यवाहक अध्यक्ष  महर्जनको अनुरोध  छ ।

सम्मेलनमा प्रहरी वृत्त बालाजुका प्रमुख,प्रहरी नायब उपरीक्षक रामकुमार दानीले मेलाका लागि आवश्यक सुरक्षा तयारी भइरहेको  बताउनुभयो ।“मेलाका समयमा कुनैपनि घटना नघटोस् भन्ने उद्देश्यले सादा पोसाकमा समेत प्रहरी परिचालन गर्न लागेका छौँ”, उहाँले भन्नुभयो । ट्राफिक प्रहरीवृत्त नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजु भण्डारीका अनुसार ट्राफिक व्यवस्थापन चुस्त तथा दुरुस्त पार्ने तयारी भइरहेको र थप सुरक्षाका विषयमा ट्राफिक एफ.एम. ९५.५ मेघाहर्ज मार्फत पनि जानकारी दिइने छ।

पत्रकार सम्मेलनमा बालाजु बाइसधारा उद्यान कार्यालयका प्रमुख निरञ्जन बस्नेतले बालाजु बाइसधारा स्नानका समयअवधिभर बालाजुका २२ वटै धारामा पानी आउने व्यवस्था मिलाइएको बताउनुभयो ।तर आयोजक समितिले  भने यसै अवसरमा बालाजु बाइसधाराको अस्तित्व कायम राख्न र पर्यटकहरुलाई आकर्षित गर्न पनि मेला अवधिमा मात्रै नभएर हरेक समय २२ वटै धाराबाट पानी बग्ने वातावरण मिलाउन महानगरसँग माग गरेको छ ।

ल्हुति पुन्हिको अवसरमा बालाजु बाइसधारा मेलासँगै खट जात्रासमेत लाग्ने गर्दछ। तारकेश्वर नगरपालिका,नागार्जुन नगरपालिकाका र काठमाडौँ महानगरपालिका गरि पाँच वटा खट बालाजु बाइसधारामा आउने र  सिन्दुर जात्रा तथा बाजागाजाले स्वागत गरेर पूजा गर्ने प्रचलन रहिआएको मेला व्यवस्थापन समितिका सदस्य एवम् खट जात्रा व्यवस्थापन समितिका पूर्व संयोजक शंकर डंगोलले जानकारी दिनुभयो।

उहाँका अनुसार खटजात्रा  अघिल्लो दिन,१० गते बेलुकादेखि शुरु भएर अन्तिम दिन १४ गते  सबै पाहुन देवीदेवताहरुलाई बालाजुको श्वेत विनायक गणेशको रथमा राखेर शेषमति परिक्रमा गराई सोही ठाउँमा ल्याएर विदाई गरि जात्रा समापन गरिन्छ।

पाँच दिनसम्म चल्ने मेलामा यस अघि करिब एक लाख ३० हजारले अवलोकन गरेको भएपनि यस वर्ष झन्डै दोब्बर उपस्थिति अर्थात दुई लाख ३० हजार अवलोकनकर्ताको सहभागिता रहने आँकलन गरिएको समितिका कोषाध्यक्ष शिवभक्त रञ्जितले बताउनु भयो।

बालाजु बाइसधारामामा नुवाकोटको वेद्रावती नदीको पानी आउने र यहाँ स्थान गरे मुक्तिनाथ तथा गोसाइकुण्डमा स्नान गरे सरहको पुण्य प्राप्त हुने तथा विभिन्न किसिमका चर्म(छाला)को रोगहरु निको हुने जनविश्वास छ ।भने,बाइसधारा माथिको सीतलामाई दर्शन गर्दा विफर रोग निको हुने गरेको जनधारणा पाइन्छ।

सोही दिन बाइसधारा नुहाएर नागार्जूनको जामाचो डाँडामा समेत मेला लाग्ने र जामाचोमा मृत आफन्तको नाममा बत्ति बाल्ने चलन छ।