
काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरेर आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताउनु भएको छ।
१३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत हुनु पर्ने आवश्यक्ता औंल्याउनु भएको छ।
शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ । उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ ।”
यस अवसरमा उहाँले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै श्रमको सम्मान,स्वरोजगार,उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।यस वर्ष पनि ‘मर्यादित काम,श्रमिकको सम्मान,हाम्रो अभियान’ भन्ने नाराकासाथ विभिन्न कार्यक्रमको आयोजना गरेर अन्तराष्ट्रिय मजदुर दिवस मनाइँदैछ ।
नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक,सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको छ ।
