२९ औं पटक सगरमाथा आरोहण गर्दै कामिरिता

काठमाडौं । सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पाले २९ औं पटक सगरमाथा आरोहण गर्नै भएका छन् ।

विश्व कीर्तिमान बनाएका शेर्पाले आफ्नै कीर्तिमानी तोड्ने छन् ।सगरमाथा आरोहणका लागि कामिरिता आधार शिविर पुगिसकेका छन् ।

एकसाताअघि काठमाडौँबाट लुक्ला,नाम्चे हुँदै सगरमाथा आधार शिविर पुगेका कामिरिताले भने,‘यो वर्ष २९औँ पटक सगरमाथा आरोहणमा जान लागेको हुँ।यति,उति पटक आरोहण गर्छु भन्ने कुनै योजना छैन चुचुरोतिर जाउँ कति सकिन्छ।’

करिब २८ जनाको आरोही समूहसँगै सगरमाथाको चुचुरोतिर लाग्ने तरखरमा रहेको कामिरिताले सेभेन समिट ट्रेक्स प्रालिमार्फत आरोहणका लागि शिखरतर्फ जाने तयारीमा गरेको बताएका छन् ।खासगरी कामिरिताले आरोहीको पथप्रदर्शकका रुपमा सगरमाथा आरोहण गर्दै आएका छन्।

सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा कामिरिता सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन् । गत वर्ष सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेका थिए ।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय कामिरितालाई सफल आरोहणको          शुभकामना !