अन्नपूर्ण पोस्ट्ले मनायो वार्षिकोत्सव

काठमाडौं ।अन्नपूर्ण पोस्ट् दैनिक २३ वर्षमा प्रवेश गरेको छ।काठमाडौंको गैरी गाउँस्थित मुख्यालयमा एक समारोहको आयोजना गरेर पोष्टले २३ औं वार्षिकोत्सव मनाएको हो । 

पत्रिकाले वार्षिकोत्सवका अवसरमा काठमाडौं गैरी गाउँस्थित मुख्यालयमा आयोजित विशेष समारोहमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सबैको साथ र सहयोगलाई धन्यवाद दिँदै स्वतन्त्र र स्वच्छ पत्रकारिताका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनिन सफल भएकोमा गौरवान्वित महसुस गरेको बताए ।‘धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा कलम चलाएका छौं। छुट्टै पहिचान बनाउन सफल भएका छौं। साँच्चै नै गर्वको विषय हो यो,’ अध्यक्ष थापाले भने।

नेटवर्कअन्तर्गत आमसञ्चारका सम्पूर्ण माध्यम– अन्नपूर्ण पोस्ट् दैनिक, अन्नपूर्ण पोस्ट् डटकम अनलाइन, एपीवान टेलिभिजन र रेडियो अन्नपूर्ण सशक्त सञ्चार माध्यम सञ्चालन भएको अध्यक्ष थापाले जानकारी दिए।थापाले समाचारको प्रस्तुति,विषयको गाम्भीर्यता र सत्य तथ्य सूचनासम्प्रेषणमा सधैं अघि रहेको दावी गरे।

राज्यको चौथो अंग पत्रकारिता भएकाले समाज र देशप्रतिको जिम्मेवारी निर्वाह गर्दा धेरै चुनौतीको सामाना गर्नु परेको सुनाए।‘विश्वव्यापी आर्थिक मन्दीबाट नेपाल पनि अछुतो छैन। यसको असर सञ्चार जगतमा पनि परेको छ’, थापाले भने,‘यस्तो अवस्थामा पनि दत्तचित्त भएर लागि पर्ने सम्पूर्ण सहकर्मी धन्यवादका पात्र हुन्।’

वार्षिकोत्सवका अवसरमा अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारीले विषयवस्तु र त्यसको प्रस्तुतिका हिसाबले अन्नपूर्ण पोस्ट् नेपालको पत्रकारितामा १ नम्बरमा रहेको दाबी गर्दै। यस सफलतामा सयोग पु¥याउने सम्पूर्ण सहकर्मीलाई धन्यवाद व्यक्त गरे। ‘खोजी सामग्री र सिर्जनशील प्रस्तुति हाम्रा पहिचान हुन्,’ उनले भने।

अन्नपूर्ण मिडिया नेटवर्कका ग्रुप सीईओ सनत न्यौपानेले अहिलेको जटिल परिस्थितिबाट माथि उठ्न गृहकार्य भइरहेको बताउँदै चाँडै नै नयाँ तरिकाले अघि बढ्ने योजना सुनाए। आर्थिक चुनौती व्यवस्थापनतर्फ अघि बढेको भन्दै उनले अन्नपूर्णको भविष्य उज्जवल रहेको दाबी गरे।कार्यक्रममा एपीवानका कार्यकारी उपाध्यक्ष राजेन्द्र शाक्य, प्रबन्ध निर्देशक बलराम उप्रेति र अन्नपूर्ण मिडियाका निर्देशक सचन थापाले शुभकामना व्यक्त गरेका थिए।

अन्नपूर्ण पोस्ट् दैनिकले सन् २००३ मे १ मा प्रकाशन आरम्भ गरेको थियो।