बागमतीमा समिति सभापति चयन गरिदै,४ जेठमा निर्वाचन हुने

हेटौंडा । बागमती प्रदेश सभाका पाँच वटा विषयगत संसदीय समिति सभापति चयन तयारी थालिएको छ ।यसका लागि आगामी जेठ ४ गते निर्वाचन गर्ने दलहरूबीच सहमति भएको छ।

प्रदेश सभाका सभामुखद्धारा प्रस्तावित प्रस्ताव उपर छलफल गरेर उक्त सर्वदलीय बैठकमा सभापति चयनका लागि निर्वाचन गर्ने सहमति जुटेको हो ।प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति संलग्न छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार सर्वसम्मत रूपमा सभापतिको टुंगो लगाउने प्रयास गरिने र यसका लागि प्रदेश सभाका पाँच ठूला दललाई एक–एक वटा समिति सभापति बनाइने छ।

जसअनुसार नेपाली कांग्रेस, नेकपा एमाले,माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र राप्रपाले सभापति पाउने छन्।१८ पुस २०७९ मा प्रदेश सभाको पहिलो बैठक बसेको थियो । त्यसपछि १२ असार २०८० मा आएर मात्रै प्रदेशका पाँच वटा संसदीय समिति गठन भएको थियो।

संसदीय समिति चयनको जिम्मेवारी सभामुखको भए पनि प्रदेश सभामा रहेका दलहरूबीच भागबन्डा नमिल्दा सभापति चयन हुन सकेको थिएन।