
सीता पौडेल(अर्चना)
काठमाडौं ।प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पुर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि बरु न्यायको लडाईं सधैं लडिरहने तर कसैसँग पनि आत्मसर्मपण नगर्ने बताएका छन्।
सिधाकुरा डटकम प्रकरणलाई इंगित गर्दै चौतारी अध्यक्ष बस्नेतले सोमबार सर्वोच्चले दिएको आदेश नेपाली प्रेसमाथि अङ्कुश लगाउने तवरबाट आएको भन्दै त्यसलाई सच्याउन अनुरोध गरेका छन्।
शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा भएको नेपाल पत्रकार महासंघको महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष बस्नेतले सिधाकुरा डटकमको सामाचारलाई लिएर सर्वाेच्ले गरेको आदेश गलत भएको चौतारीले ठहर गरेको हुँदा फिर्ता लिन सर्वाेच्चसमक्ष मागसमेत गरेका छन्।सर्वोच्चको उक्त आदेश सञ्चारमाध्यममाथिको हमला भएको जिकिर गर्दै उनले यसप्रति आपत्ति जनाएका हुन् ।
सर्वाेच्चप्रति आक्रोश व्यक्त गर्दै उनले भने,‘न्यायालयले मेरा विरुद्ध कसैले आँखा ठड्यायो भने तेरा आँखा फुटाइदिन्छु भन्ने जस्तो भाषा बोलेको छ ।‘हामी लड्न चाहँदैनौँ तर कसैका अगाडि शिर झुकाएर नेपाली प्रेसले आत्मसमर्पण गर्छ भनेर कसैले सोच्छ भने त्यो आत्मविश्वास हैन घमण्ड हो।घमण्ड र आत्मविश्वासमा फरक हुन्छ, सर्वाेच्चले घमण्ड नगरोस्।’ उनले भने ।
नेपाली प्रेसलाई अंकुश लगाएर कमजोर पार्न खोजिएको भन्दै उनले नेपाली प्रेस जस्तोसुकै शक्तिसँग पनि डराउँदैन भन्ने पाठ राजा ज्ञानेन्दलाई समेत सिकाईसकेको दाबी गरे ।साथै उनले कार्यक्रममा पेशागत हक,हित र पत्रकारको सामाजिक सुरक्षाका लागि पत्रकार सम्बद्ध सबै संघसंगठनहरु एकजुट हुनु पर्ने आवश्यक्ता औंल्याए।
अध्यक्ष बस्नेतले नेपाली प्रेसले प्रजातन्त्र,गणतन्त्र वा लोकतन्त्रलाई संस्थागत गर्न राजनीतिक दलहरुलाई सही बाटोमा हिंड्न सहयोग गर्दै आएकाले मुलुकको आर्थिक अवस्था सुधार र देश विकासका साझा मुद्दामा एकजुट भएर अघि बढ्न नेपालका राजनीतिक दलहरुलाई सुझाव समेत दिएका छन्।
यद्यपि सिधा कुरा डटकममा प्रकाशित समाचार र अडियोबारे न्यायाधीश हरि प्रसाद फुयाँल र महेश शर्मा पौडेलको इजलासमा कार्यकारी सम्पादक नविन ढुंगाना,प्रकाशक युवराज कँडेल र अडियो उपल्ब्ध गराएका भनिएका राजकुमार तिमिल्सिनाले बयान दिइसकेका छन् ।कँडेल र ढुंगानालाई तारेखमा राखिएको छ।
यसअघि सर्वोच्चले सिधा कुराका विवादित सामग्री २४ घण्टाभित्र हटाउन भनेको थियो।यसर्थ पत्रकार महासंघ लगायत सञ्चारसम्बद्ध संस्थाहरूले सर्वोच्चको उक्त आदेश संविधान विपरीत भएको भन्दै विरोध जनाएका हुन् ।
