
काठमाडौं । काठमाडौं उपत्यकामा आज आइतबार साँझ पानी परेको छ ।लामो समयपछि काठमाडौँमा वर्षा भएको हो।
पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेका बेला मेघ गर्जनसहित पानी परेको हो।गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केही दिनयता मुलुकका धेरै स्थानमा केही दिनदेखि मौसम बदली हुन थालेको थियो।
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आइतबार पूर्वको कोशीका केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने र सोमबार र मङ्गलबार अन्य प्रदेशका विभिन्न ठाउँमा वर्षा हुने जनाएको थियो।मौसम बदलीका कारण पछिल्ला केही दिनदेखि तापक्रम घट्दो क्रममा रहेको मौसमविद्हरुको भनाई छ।
तराईका जिल्लामा पनि हिजो शनिबारबाट ४० डिग्रीभन्दा तल नै तापक्रम रहेको र यो क्रमशः घट्दै जाने मौसम्विद्हरुले बताएका छन् ।केही दिनअघि यसपाली तापक्रम सबैभन्दा बढी भैरहवामा ४३.६ डिग्रीसम्म पुगेको थियो ।भोलि सोमबार र पर्सि मंगलबार पनि बागमती, कोशी,गण्डकी र लुम्बिनी प्रदेशका केही भूभाग र बाँकी पहाडी भूभागका केही क्षेत्रमा हल्लादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।जसका कारण देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
वर्षा नहुँदा अत्यधिक गर्मीका कारण देशभर वनजङ्गलमा डढेलो र आगलागीका घटना बढिरहेको छ । कतिपय स्थानमा जनधनको ठुलो क्षति भएको छ ।
