डढेलो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन्

काठमाडौंं। उप–प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा आइतबार भएको ‘डढेलो र आगलागी सम्बन्धी आपत्कालीन बैठक’ मा गृहमन्त्री लामिछानेले आगलागीका ९० प्रतिशत घटना मानवीय लापरवाहीका कारणले हुने उल्लेख गर्दै आगो लगाउनेलाई कानुन अनुसार कारबाही गर्न निर्देशन दिएका हुन्।

उनले गृह मातहतका निकाय र सुरक्षा अधिकारीलाई निर्देशन दिँदै भने,‘केही मान्छेका कारण आगलागीले वन र बस्ती सखाप भइरहेको छ।आगलागीले विपद्कै रुप लिइसक्यो तर आगो लगाउनेको अक्सर पहिचान हुँदैन।पहिचान भएका पनि कानुन मातहत आएका छैनन् होला।वनमा आगो लगाउनु अपराध हो।अपराध गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्छ।त्यसतर्फ गम्भीर र सक्रिय भएर लाग्नूहोला।’

आगो लगाउनेलाई कारबाही र आगो लगाउनेको सूचना दिनेलाई पुरस्कृत गर्नुपर्ने गृहमन्त्रीको भनाई छ।उनले आगो लगाउने व्यक्तिबारे सूचना भए स्थानीय सरकार,जनप्रतिनिधि,स्थानीय प्रशासन,नजिकको प्रहरी कार्यालय लगायतलाई खबर गर्न आग्रह गरेका छन्

यही वैशाख २१ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठक बसेको थियो।त्यस बैठकले ‘विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि–२०८१’ पारित गरेको थियो।उक्त कार्यविधि अनुसार आगलागी पीडितले पनि अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरी रु ५० हजार अनुदान पाउनेछन्।