महिलाको आर्थिक अवस्था बलियो नभएसम्म मुलुकको अर्थतन्त्र सबल हुन्न : अर्थमन्त्री

काठमाडौं।महिलाको आर्थिक अवस्था बलियो नभएसम्म मुलुकको अर्थतन्त्र सबल नहुने भन्दै अर्थमन्त्री वर्षमान पुनले बढीभन्दा बढी महिलालाई उद्यमी बनाउने उपाय अवलम्बन गर्न थालिएको बताएका छन्।

सोमबार मन्त्रालयमा महिला उद्यमीसँगको छलफल तथा अन्तरक्रियामा उनले बढीभन्दा बढी महिलालाई उद्यमी बनाउने उपायबारे आफूलाई सुझाव दिन आग्रह पनि गरेका छन्।साथै उनले बजेट निर्माणमा महिला उद्यमी लक्षित सहुलियतपूर्ण व्यवस्था गर्ने समेत बताएका छन्।

मन्त्री पुनले महिलाका नाममा घरजग्गा पास गर्दा घरजग्गा रजिस्ट्रेसनमा शुल्क छुट दिने नीतिका कारण २७ प्रतिशत महिला सम्पत्तिको मालिक भएको बताए।२७ प्रतिशत महिलासँग सम्पत्ति भएकाले व्यवसाय गर्दा बैंकले ऋण पत्याउने अवस्था भएको उनको भनाइ छ ।

पुरुषलाई सम्पत्ति धितो राखेर व्यवसाय गर्छु भन्ने अवस्था भएको तर महिलाको हातमा सम्पत्ति कमैमात्र हुने भएकाले ऋण लिएर व्यवसाय गर्ने अवस्था अझै नभएको बताए ।

कार्यक्रममा महिला उद्यमीहरु शोभा ज्ञवाली,डा. माला खरेल,अभिलाषा पौडेललगायतले महिला उद्यम प्रवर्द्धनका लागि बजेटमा समेट्नुपर्ने विषयमा जोड दिएका थिए।