
सीता पौडेल(अर्चना)
काठमाडौं ।आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया हुन्।‘अक्षय’भन्नाले अमर हुनु भन्ने बुझिन्छ ।यस दिन जे पनि गरिन्छ त्यो सदा कायम रहन्छ भन्ने विश्वास छ। यस दिनलाई नेपाली समाजमा जौंको सातु खाने दिन भनेर पनि चिन्ने गरिन्छ ।
सनातन धर्मावलम्बीका लागि यो दिनले विशेष अर्थ राख्दछ ।मानिसहरुले धन समृद्धि,स्वास्थ्य र सुख प्राप्त गर्न यस अवसरमा विभिन्न उपायहरु अपनाउँछन् ।यस दिन भगवानका छैंटौं अवतार परशुरामको जन्म भएको हुँदा यस दिनलाई अमर,अपराजित,सत्यवादी,कला र कौशलताले निपूर्ण परशुरामको कृपाले जीवनमा सत्य अनि कला कौशलताको विकास होस् भनेर चिरञ्जीवी तिथिका रुपमा पनि मनाउने चलन छ ।
यो दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने,ब्रह्मा,विष्णु,महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणमा उल्लेख छ।यस्तै छाता,लौंरोजस्ता वस्तु पनि दान गर्नाले पुण्य मिल्ने विश्वास लिइन्छ।
यस दिन बाटोमा सातु र सर्वत राखेर बटुवालाई खुवाउने परम्परा पनि छ।यसो गर्दा पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । भने गर्मीयामा जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ।
त्रेतायुगको आरम्भ यही दिनबाट भएको हुनाले अक्षय तृतीयालाई सत्ययुगादि तिथि भनेर पौराणिक ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ।अक्षय तृतीयाकै दिन भगवान् शिव पार्वतीको विवाह भएको पुराणमा उल्लेख छ।
तर यस वर्ष शुक्र अस्त र वृहस्पती अस्तको समय भएको हुँदा यस अवधिमा नयाँकार्यको शुभारम्भ सकभर नगर्न धार्मिक गुरुहरुले सुझाव दिएको पाइन्छ ।
तर पनि पहिले नै निर्णय लिइसकेका कार्यहरु,नियमित गरिहरहेको कार्यहरु र भैपरि आउने कार्यजस्ता कार्यहरु भने गर्न सकिने उनिहरुको भनाई छ ।
