
सीता पौडेल (अर्चना)
काठमाडौं । रोटरी क्लब अफ काठमाडौं नर्थले यस शैक्षिक सत्रमा पनि २० जना छात्राहरुलाई उनीहरुको पठनपाठनमा सहयोग गरेको छ।
क्लबले शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका,१ विरुवामा अवस्थित श्री कुलमाया भगवती माध्यामिक विद्यालयमा एक कार्यक्रमको आयोेजना गरि सोहि स्कुलको कक्षा २ देखि कक्षा ६ सम्म अध्यनरत गरिब तथा जेहेन्दार छात्राहरुलाई सहयोग गरेको अध्यक्ष सुवास घिमिरेले जानकारी दिए ।

निजी स्वार्थभन्दा माथि उठेर सामाजिक सेवा गर्ने रोटरीको मुल मन्त्रलाई आत्मसात् गर्दै सामाजिक विकासका विभिन्न क्षेत्रमा सक्रिय रोटरी क्लब अफ काठमाडौं नर्थले रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट–३२९२ नेपाल–भुटानले तय गरेको विभिन्न सात कार्य क्षेत्रमध्ये शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको उनको भनाई छ ।
अध्यक्ष घिमिरेका अनुसार रोटरीको सोही सिद्धान्त र रणनीतिका आधारमा क्लबले ‘गल्स चाइड एजुकेइशन सर्पाेट’ अन्तर्गत ती बालिकाहरुको शैक्षिक विकासका लागि गत वर्ष पनि वर्षभरिलाई पुग्नेगरि स्टेशनरी,पोषाक,जुत्ता,ट्रयाक सुट, स्कुल व्याग लगायतका सामाग्रीहरु प्रदान गरेको थियो ।
यस वर्ष पनि क्लबले एक वर्षसम्म पुग्ने स्टेसनरी सामाग्री(कापी,अतिरिक्त पाठ्यपुस्तक,पेन्सिल,क्लिप बोर्ड,पेन्सिल व्यागसहित स्कुल व्यागसमेत प्रदान गरेको जनाएको छ।
सोही अवसरमा क्लबले कक्षा १ देखि १० सम्म गत वर्षको वार्षिक परिक्षामा प्रथम,द्धितीय र त्रृतीय स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई क्रमशः गोल्ड,सिल्भर र ब्रोन्ज मेडलले सम्मान गरेको थियो।त्यस्तै गरि क्लबले कान्तिपुर डेन्टल अस्पताल र विएम फाउनडेसनसँगको सहयोगमा स्कुलका विद्यार्थी र शिक्षक शिक्षिकाहरू सहित २६० जनाको निःशुल्क दन्त परिक्षण गराएको थियो।भने, बालबालिकाहरुलाई एक– एक वटा दन्त मन्जन र ब्रस समेत उपलब्ध गराएको थियो ।


कार्यक्रममा क्लबका मनोनित अध्यक्ष प्रितम पौडेलले विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई शिक्षण विधि र प्रशिक्षकहरुमा आत्मविश्वास तथा प्रेरणा जागृत गराउने हेतुले मोटिभेशनल प्रशिक्षण सञ्चालन गरेका थिए। भने,रोटरीयन तथा बैंकर विष्णु पौडेलले कक्षा ८,९ र १० का विद्यार्थीहरुलाई विद्यार्थीको काम,कर्तव्य र अधिकार सँगै लक्षय निर्धारणका विषयमा प्रशिक्षण दिएको क्लबका पूर्वअध्यक्ष तथा सर्भिस प्रोजेक्ट चेयर गौतम प्रसाद खनालले जानकारी दिए ।

कार्यक्रममा क्लब पूर्वअध्यक्षहरु,अन्य पदाधिकारीहरु,सदस्यहरु,स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरु,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार प्रसाद चौलागाईँ लगायत विद्यालयका प्रअ,शिक्षिक शिक्षिका,बालिकाका अभिभावकहरु,विद्यार्थीहरु लगायतको बाक्लो उपस्थित रहेको थियो ।

