वीरगञ्जबाट ४० अर्ब भन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ।

साथै उक्त कार्यालयले आर्थिकमन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६० दशमलव ७२ प्रतिशत राजस्व सङ्कलन गरेको जनाएको छ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा रामप्रसाद मैनालीले चालु आर्थिक वर्षमा समग्र बजार सुस्ताएकाले अपेक्षाकृत रुपमा राजस्व सङ्कलन हुन नसकेको बताए।

‘अहिले समग्र मुलुकको बजार सुस्ताएको छ’, उनले भने, ‘माग कम भएपछि आयात पनि स्वतः घट्ने भयो।’ भन्सार विभागले कार्यालयलाई चालु आवको १० महिनाको अवधिमा रु ५४ अर्ब २७ करोड २१ लख ३५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो भने कार्यालयले १० महिनाको अवधिमा भने रु ४० अर्ब तीन करोड सङ्कलन गरेको छ।