एमालेले कांग्रेससँग तालमेल गर्दैन,कांग्रेस प्रतिष्पर्धी पनि होइन् : उपमहासचिव रिमाल

 सीता पौडेल(अर्चना)

काठमाडौं ।नेकपा (एमाले)का उप–महासचिव विष्णु रिमालले अहिलेको सत्ता समीकरणलाई तोडेर एमालेले नेपाली कांग्रेससँग कुनै पनि प्रकारको तालमेल नगर्ने बताएका छन् ।

आज शनिवार ‘नेकपा एमाले तारकेश्वर नगरपालिका कमिटि’को दोस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उप–महासचिव रिमालले एमालेको अबको लडाई राजनीतिक लडाईँ नभएर आर्थिक–सामाजिक न्यायको लडाइँ हुने भएकाले यस अवस्थामा सत्ता लुलुप्तामा रहेको कांग्रेस पार्टीसँग तालमेल गर्न नमिल्ने बताएका हुन् ।

कार्यक्रममा उनले नयाँ समिकरण जोगाउन पार्टीले  हदैसम्मको लचकता अपनाउन समेत तयार भएको  जिकिर गरे ।साथै उनले कांग्रेस र एमालेको योग्यता र हैसियतमा मेल नखाने हुनाले कांग्रेसलाई एमालेले प्रतिष्पर्धी समेत नठानेको टिप्पणी गरे।

परिपूर्ण लोकतन्त्रले मात्रै ‘सुखी नेपाली,समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पुरा गर्ने भन्दै उनले एमालेको ठूलो मिसशन जनताको सामाजिक–आर्थिक स्थितिमा परिवर्तन ल्याउनु रहेको बताए ।

एमालेका नेतृत्व वा तारकेश्वरमा बनेको ‘तारकेश्वरको केपी ओली’ नेतृत्वले जनतालाई बराबर अधिकार,अवसर र समान पहुँच,समानता,सामाजिक न्याय र सुुरक्षा जस्ता विषयमा ध्यान दिनु पर्ने उनको भनाई छ।यसको लागि नै एमालेले मिशन–०८४ को अवधारणा अघि सारेको स्पष्ट पार्दै उनले वि.सं.२०८४सालको चुनावमा एमालेको बहुमत तयार गर्ने अभियान नै मिसन–०८४को अभियान रहेको स्मरण गराए ।

कार्यक्रममा उप–महासचिव रिमालले पार्टी चौतफी घेराबन्दी र संकटमा परेको अवश्थामा समेत पार्टीलाई माथि उठाउन नगर कमिटिको महत्वपूर्ण भूमिका रहेको भन्दै अब पनि नेतृत्वले पार्टीलाई सबल बनाउने र राष्ट्र निर्माण जस्ता विषयमा चिन्तन र छलफल गर्नु पर्ने आवश्यकता औंल्याए । 

चुनाव चिन्हमा छाप लाएर मात्रै नेतृत्व चुन्नु  लोकतन्त्रको असल अभ्यास नभएको भन्दै उनले सकेसम्म सहमति मै नेतृत्व चयन गर्न र एउटै पदमा १ भन्दा बढीको उमेदवारी परेमा हलले विवेकपूर्ण निर्णय लिन सुझाए ।