
सीता पौडेल(अर्चना)
काठमाडौं।काठमाडौंको तारकेश्वर नगरपालिका कमिटको दोस्रो अधिवेशन ३ दिन हुँदा पनि टुंगिन सकेको छैन।
यहि जेठ ५ गते शनिबारको उद्घाटनसत्रसँगै बन्दसत्रको केही प्रकृया सकिसकेको सो अधिवेशन आकांक्षीहरुबीच सहमति हुन नसक्दा आजसम्म पनि नेतृत्व चयन हुन नसकेको हो।

सहमतिमा नेतृत्व टुंग्याउनु पर्ने केन्द्रिय कमिटिको निर्देशन अनुसार हिजो राती अबेरसम्म पनि सहमतिको प्रयास गरिएको भए तापनि अझैसम्म पनि सहमति हुन नसकेको एक प्रतिनिधिले जानकारी दिएका छन्।
उनका अनुसार पहिलो दिन नै सबै प्रतिवेदन उपर छलफल गरी सर्वमम्मतिले पारित गरे पनि उम्मेदवारहरुको आ–आफ्नै अडानका कारण नेतृत्व चयनमा भने सममति जुट्न सकेको छैन।त्यस्तै सदस्यहरुमा पनि सहमति जुट्न सकेको छैन ।तर अझैपनि सममति जुटाउने प्रयास भने जारी भएको बताइएको छ ।
अबको आधाघण्टा भित्र सममति जुट्न नसके चुनावी प्रकृया थप अगाडी बढाउने निर्वाचन मण्डलको तयारी भएको उनको भनाई छ ।
को को छन् प्रत्यासी ?
एमाले तारकेश्वरको ३ दिनदेखि नेपालटारमा अवस्थित कान्तिपुर एवी व्याङ्क्वेटमा जारी दोस्रो नगर अधिवेशन अन्तर्गत आगामी नेतृत्वका लागि २ जना उम्मेदवार सहितको अन्तिम नामावली प्रकाशन गरिएको छ।
निर्वाचन मण्डलले आइतबार अबेरसम्म गरेर अन्तिम नामावली प्रकाशन गरेको हो।
अध्यक्षमा निवर्तमान अध्यक्ष बासु गौतम र कञ्चन भट्टले उम्मेदवारी दिएका छन्।उपाध्यक्षका लागि राजु तिमल्सिना र श्याम गजुरेलको उम्मेदवारी छ ।यस्तै सचिव पदका लागिरविन्द्र केसी र बलराम सिटौला उम्मेदवार छन् ।
उप –सचिव पदमा मनहरी थापा र कल्पना जोशी निर्विरोध भएका छन् । यस्तै, लेखा समितिको सचिवमा कपिल अधिकारी निर्विरोध निर्वाचित भएको तारकेश्वर नगरपालिका किमिटि स्रोतले जानकारी दिएको छ ।
एमाले उप–महासचिव विष्णु रिमालले शनिबार उक्त अधिवेशनको उद्घाटन गरेका थिए।

दुई दिनमा सकिने भनिएको अधिवेशन नेतृत्व चयनमा सहमति नजुट्दा लम्बिएको हो।

