एपिएफका पौडेलद्वारा सगरमाथा आरोहण

काठमाडौं।सशस्त्र प्रहरी बल नेपाल (एपिएफ)मा सेवारत प्रहरी निरीक्षक सुरज पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

एपिएफको इतिहासमा पहिलोपटक सङ्गठनको प्रतिनिधित्व गर्दै उनले यही जेठ ७ गते सोमबार बिहान १०ः२० बजे सगरमाथा आरोहण गर्न सफल भएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन्।

प्रहरी निरीक्षक पौडेल सगरमाथामा आरोहणका लागि गत चैत ३० गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

एपिएफले हिमाली भेगमा हुने विपद् व्यवस्थापन उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरेको जनाएको छ।यस आरोहणले त्यस प्रकारका तालिमलाई समेत गुणस्तरीय बनाउन मद्दत पुग्ने जनाइएको छ।

निरीक्षक पौडेलले उत्तरी सिमानामा पर्ने सगरमाथाको सफल आरोहण गरेकै समयमा दक्षिणी सिमाना नजिक पर्ने झापाको ५८ मिटर उचाइमा रहेको केचनाकवलमा बिओपी केचनाबाट सशस्त्र प्रहरी निरीक्षक केशव मैनाली कमाण्डको टोली पुगेको पनि जानकारी दिएका छन् ।

आरोही पौडेल इलाइट एक्सपेड नेपाल एपिएफ एभरेष्ट एक्सपीडिसन नामक पर्वतारोही दलको नेतृत्व गर्दै शेर्पा एक्सट्रिम प्रालिमार्फत सगरमाथामा आरोहणका लागि  त्यसतर्फ प्रस्थान गरेका थिए।

उनले यस बिचमा सगरमाथासँगै रहेको लुवुचे हिमालको समेत सफल आरोहण गरेको बताइएको छ ।