
सीता पौडेल(अर्चना)
काठमाडौं।पारालिम्पीक वल्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाईल्याण्ड गएका छन्।
भोली मे २३ देखि २६ सम्म थाइल्याण्डमा हुने पारालिम्पीकमा केशव थापा ह्वीलचियर क्याटोगोरीको क्लास ३ मा प्रतिस्पर्धाका लागि थाइल्याण्ड गएका हुन्।उक्त खेलमा विश्व बरियतामा रहेका खेलाडीहरुले मात्र प्रतिस्पर्धा गर्न पाउँछन्।नेपालमा पारा टेबल टेनिसका खेलाडी केशव थापा एकमात्र विश्व बरियताका खेलाडी हुन्।
पारालिम्पीक वल्ड क्यालिफीकेशन टुर्नामेन्टमा विश्वका धेरै देशका खेलाडीहरुले सहभागिता जनाएको सो खेलमा ह्वीलचियर ब्याइज क्लास ३ मा १५ देशका विश्व वरिएतामा रहेका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन।उक्त खेलमा विजेता हुने खेलाडी आगामी अगष्ट र सेप्टेम्बरमा फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने पारालिम्पीकमा सिधै छनोट हुनेछन्।
उनीहरुको प्रोत्साहनको लागि ललितपुर बागडोलस्थित सुन्दर ढोका साथी सेवा विकास शिल्डले हवाई टिकट तथा खेलका लागि आवश्यक सामाग्री र मेडिकल इन्सुरेन्सको प्रायोजन गरेको छ।भने,गोकर्णेश्वर नगरपालिकाले रु ५० हजार आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नेशनल पारालिम्पीक कमिटीका कोषाध्यक्ष ओमनाथ सिवाकोटी लगायतले उनीहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।खेलमा सहभागि हुनको लागि आयोजकको नियम अनुसार प्रवेश शुल्क र आवास शुल्क बापत प्रतिव्यक्ति ९६० युरो आयोजकलाई भुक्तानी गर्नु पर्ने प्रावधान रहेको छ।भने,जनही करिब एक एक लाख रुपैयाँ खेलाडी स्वंयमले लगानी गर्नुपर्ने प्रावधान रहेको खेलाडी थापाले जानकारी दिए।

विकास शिल्डले हवाई टिकट तथा खेल सामाग्रीमा प्रायोजन गरेको हुनाले नेपालले सहभागिता जनाउने अवसर मिलेको भन्दै उनीहरुले राष्ट्रिय खेलकुद परिषदमा निवेदन दिइ जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको दुखेसो पोखे।अपांगता भएका खेलाडीहरुको प्रोत्साहनका लागि सरकारबाट आवश्यक सहयोग गर्न खेलकुदमा दीर्घकालीन योजनाको खाँचो रहेको उनीहरुको भनाई छ।
‘राष्ट्रको खेलकुद विकासका लागि उत्कृष्ट खेलाडीले अवसर खोज्ने होइन,राज्यले उत्कृष्ट खेलाडी खोज्ने परिपाटी बनाउन सकेमात्र खेलकुद क्षेत्रले गति लिने हुँदा सरकारको बेलैमा यसतर्फ ध्यान जान जरुरी छ ’ उनले भने।
को हुन् खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती ?
केशव थापा नेपालमा आयोजना भएका ह्वीलचियर टेवल टेनिसमा राष्ट्रिय च्याम्पीयन समेत भई सकेका खेलाडी हुन ।उनी पारा एसियन गेम २०१८ इन्डोनेशिया, पारा एसियन गेम २०२२ हान्जाउ चाइना लगायत, ताइवान,जापान,पोल्याण्ड,थाइल्याण्ड र बगंलादेश लगायतका देशको प्रतिनिधित्व गर्दै बगंलादेशमा गोल्ड मेडल समेत जित्न सफल नेपाली पारा टेबल टेनिसमा हाल विश्व बरियतामा रहन सफल एकमात्र पारा टेबल टेनिसका खेलाडी हुन ।
१३ बर्ष अघी मेरुदण्ड पक्षघात भई अपाङता भएका थापाको धवलागीरी गा.पा.७ धारापानी, म्याग्दीमा जन्मेका थापा विगत १२ बर्ष देखी गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा बस्छन् ।
प्रशिक्षक बसन्त भारती चौथो पारा एसियन खेल हान्जाउ चाइनामा नेपाली टेबल टेनिसको प्रशिक्षकको जिम्मेवारी पुरा गरिसकेका प्रशिक्षक हुन्।पारा टेबल टेनिसका अन्तराष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक उनी गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा हुन् ।
