नेपाली कांग्रेसको कार्यसम्पादन सदस्यमा रमेश लेखक मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा रमेश लेखक मनोनीत भएका छन्। पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रमुख सचेतक लेखक पार्टीको विधान २०१७ को धारा २३ को उपधारा २ अनुसार कार्यसम्पादन समिति सदस्य पदमा मनोनीत भएको गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सभापति देउवाले लेखकलाई कार्यसम्पादन समिति सदस्य मनोनीत गरेकोमा बुधबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदनसमेत गरेको छ।

विधानअनुसार सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखेर कार्यसम्पादन समितिमा ३१ जना मनोनीत गर्न पाउने व्यवस्था छ।

कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता पदेन सदस्य रहन्छन्। कार्यसम्पादन समिति बैठक कम्तीमा महिनामा एक पटक बस्नेछ।

केन्द्रीय समिति बैठक तत्काल बस्न सक्ने सम्भावना नभएका बेला कार्यसम्पादन समितिबाट निर्णय गरी पछि केन्द्रीय समितिबाट अनुमोदन गर्ने अभ्यास पनि कांग्रेसभित्र रहँदै आएको छ।