
काठमाडौँ । बोटलर्स नेपालको दुई कम्पनीको नाफामा भारी गिरावट आएको छ । काठमाडौंस्थित बालाजु र चितवनको भरतपुरमा बोटलर्सका दुई कम्पनीहरु सञ्चालित छन् ।
दुवै कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बालाजुले चालु आवको तेस्रो त्रैमासमा ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षभन्दा निकै कम हो । गत आवको यसै अवधिमा बालाजुमा सञ्चालित कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
मुख्यतः कम्पनीको (बालाजु) बिक्री आम्दानी घट्नुले नाफामा असर पारेको देखिन्छ । कम्पनीले चालु आवको तेस्रो त्रैमासमा कुल ७ अर्ब १८ करोड रुपैयाँको उत्पादन बिक्री गरेको छ । पहिले यसै अवधिमा ८ अर्ब २१ करोड रुपैयाँको बिक्री गरेको थियो ।
कम्पनीको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । वार्षिक प्रतिसेयर आम्दानी पहिले २७५ रुपैयाँ रहेकोमा अहिले २४ रुपैयाँमा झरेको छ । बुधबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता १५ हजार ७४६ रुपैयाँ छ । कम्पनीको वार्षिक रिटर्न अन इक्वीटी पहिले १०.१ रहेकोमा अहिले जम्मा १।३ प्रतिशतमा झरेको छ । प्रतिसेयर नेटवर्थ ३ हजार २२९ रुपैयाँ छ ।
