समाजवादी प्रेस संगठनले गर्याे पत्रकार महासंघमा तालाबन्दी

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले आजनेपाल पत्रकार महासंघको सञ्चारग्राम, सिनामंगलस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।

पत्रकार महासंघको निर्वाचनका निम्ति तयार पारिएको सदस्यता सूचीमा रातारात गैरपत्रकारका नाम थप्दै निर्वाचन समितिलाई बुझाउने तयारी भइरहेको भन्दै संगठनले तालाबन्दी गरेको हो ।

गठनका अध्यक्ष विश्वमणि सुवेदीका अनुुसार सदस्यता शुद्धीकरणका क्रममा आएका उजुरीको अध्ययन गरी न्यायोचित रूपमा सदस्यता नामावली तयार पार्ने कार्यदलले जेठ ८ गते टुङ्गो लगाएका नाममा रातारात हेरफेर गर्दै विभिन्न जिल्ला शाखा र प्रदेशबाट सिफारिस नै नभएका नाम हाल्ने काम भएको थियो ।

सुवेदीले तालाबन्दीअघि आफ्नो संगठनका सदस्यका नाम हटाउँदै प्रेस चौतारीको नाम हाल्ने काममा प्रेस सेन्टरसम्बद्ध महासंघका महासचिवको साँठगाँठ रहेको आरोप लगाए । पत्रकार महासंघ पत्रकारिता गर्ने पत्रकारको मात्रै साझा संस्था हुनुपर्ने संगठनको माग विपरित पत्रकारिताबाहेक अन्य पेसा, व्यवसायमा संलग्न व्यक्तिका नाम रातारात थपिएको उनको जिकिर छ ।

त्यससँगै पत्रकारिता पेसामै रहेका थुप्रै मधेसी, महिला, दलित, जनजातिसहित नाम पनि हठात् हटाइएको संगठनको दाबी छ । त्यस्तो सदस्यता विवरण खारेज गरी न्यायोचित सदस्यता जारी नभएसम्म संगठनको विरोध जारी रहने अध्यक्ष सुवेदीले बताए ।