एमालेले महिला भेला गरेर छैटौँ राष्ट्रिय महिला अधिकार दिवस मनाउँदै,११ बजे कमलादिमा भेला गर्ने

सीता पौडेल(अर्चना)

काठमाडौं।‘हाम्रो अभियान : आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ आज छैटौँ राष्ट्रिय महिला अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाईँदै छ।

यसै अवसरमा नेकपा (एमाले)ले सबै क्षेत्रमा महिलाको अर्थपूर्ण र सम्मानजनक सहभागिता रहनु पर्ने आवश्यक्ता औंल्याउँदै आज जेठ १६ र भोलि जेठ १७ गते दुई दिन राष्ट्रिय महिला भेला कार्यक्रमको आयोजना गरेको अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्र हमालले जानकारी दिएकी छिन्।

उनका अनुसार आज बुधबार एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा काठमाडौंको कमलादि स्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको सभाहलमा  आयोजना हुने सो भेलाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दैछन्।भने,एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ताका रुपमा रहेका छन्।

राज्यका हरेक तह र तप्कामा महिलाको अर्थपूर्ण सहभागिताका लागि सामूहिक प्रयास हुनु जरूरी भएकाले महिलाको हक अधिकार सुनिश्चित गरी लैंगिक समानतामुलक सभ्य समाज निर्माण गर्न एमालेले पहल गर्दै आएको र यो पनि एक अर्का पहल रहेको संयन्त्रका संयोजक भानुभक्त ढकालले बताएका छन्।साथै उनले संविधानप्रद्धत महिलाको ३३ प्रतिशत अधिकारलाई सुनिश्चित गर्न पहल गर्ने सन्दर्भमा एमाले अन्य पार्टीको तुलनमा अब्बल पार्टी रहेको जिकिर गरेका छन्।

भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरुको लेखाजोखा र महिलाका चुनौतिहरुको विषयमा छलफल गरेर महिला आन्दोलनका अबका छलफलका विषयलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्र हमालले बताएकी छन् ।

भेलाको व्यवस्थापनको लागि १५० जनाको महिला स्वयंसेवक परिचालन कमिटि निर्माण गरेर उनिहरुलाई प्रशिक्षण दिइ तम्तयार अवस्थामा राखिएको अध्यक्ष हमालको भनाई छ ।करिब ५ हजार महिलाको सहभागिता गराउने गरि सूचना सर्कुलर गरिएको हुनाले भेलामा उत्साहजनक सहभागिता तथा उपलब्धिपूर्ण कार्यक्रम हुने विश्वास लिइएको संयन्त्रले जनाएको छ।

भेलालामा पार्टीका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु,एमाले आबद्ध ३३ वटै जनसंगठनका महिला नेताहरु,पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरु,पार्टीको प्रदेश तथा जिल्ला कमिटिका महिला पदाधिकारीहरु,अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित प्रतिनिधिहरु र अन्य शुभचिन्तकहरुको सहभागिता रहने बताइएको छ। 

एमालेकी केन्द्रिय सदस्य रचना खड्काले भेलाको दोस्रो दिन बबरमहल स्थित कार्की बैंक्वेटमा हुने कार्यक्रममा कार्यक्रमको उद्देश्यमा आधारित भएर विभिन्न १२ वटा समुह बनाई सामुहिक फलफल तथा प्रस्तुति गरिने र निश्कर्षहरु सार्वजनिक गरिने कार्यसूचि तय भएको जानकारी दिएकी छन् ।

उनका अनुसार उक्त भेलाको समापन कार्यक्रमलाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने  कार्यसूचि  छ।एमालेले उक्त भेलाबारे जानकारी गराउने उद्देश्यले यसघि जेठ १३ गते पत्रकार सम्मेलन समेत गरेको थियो।

नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरेको छ।

यसै सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले सबै क्षेत्रमा महिलाको सम्मानजनक सहभागिता हुनु पर्नेमा जोड दिँदै शुभकामना सन्देश व्यक्त गरेका छन्।

शुभकामना सन्देशमा उनले भनेका छन्,‘सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा,सम्मान र हक अधिकार सुनिश्चित गरी लैंगिक समानतायुक्त सभ्य समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।’

विभिन्न नीतिगत र कार्यगत प्रयास हुँदाहुँदै पनि महिला सामाजिक,साँस्कृतिक,शैक्षिक,राजनीतिक एवं आर्थिकरूपमा पछाडि परेको हुनाले यसलाई राज्यका सम्पूर्ण संयन्त्रले गम्भीररूपमा लिनुपर्ने उनको भनाई छ।

२०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनःस्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार वटा विशेष प्रस्ताव पारित गरेको दिनको सम्झनामा राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो।