
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक,सामाजिक,न्यायिक पहुँचलगायतका क्षेत्रमा महिलाको समान,अर्थपूर्ण र सम्मानजनक सहभागिताको प्रत्याभूति गराउनुपर्ने बताएका छन्।
छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिताका लागि सबैको सामूहिक प्रयास हुनु जरूरी रहेको बताएका हु्न्।
शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन् , ‘सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैंगिक समानतायुक्त सभ्य समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु।’
विभिन्न नीतिगत र कार्यगत प्रयास हुँदाहुँदै पनि महिला सामाजिक,साँस्कृतिक, शैक्षिक, राजनीतिक एवं आर्थिकरूपमा पछाडि परेको भन्दै उनले यसलाई राज्यका सम्पूर्ण संयन्त्रले गम्भीररूपमा लिनुपर्ने बताएका छन्।
‘हाम्रो अभियान स् आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ आज जेठ १६ गते बुधबार(२९ मे)का दिन छैटौँ राष्ट्रिय महिला अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ।
