
सीता पौडेल(अर्चना)
काठमाडौं। साहित्यकार बालकृण्ण सुवेदीको “ त्रिनेत्र” पुस्तक सार्वजनिक भएको छ।
मंगलबार मन्जुश्री साहित्य समाजको आयोजनामा काठमाडौंको नागार्जुन–१मा अवस्थित रानीवन पार्टी प्यालेसको सभाहलमा एक कार्यक्रमकाबीच उक्त पुस्तकको विमोचन भएको थियो।
साहित्यकार एवम् प्रोफेसर ढाकाराम साप्कोटा,साहित्यकार तथा वरिष्ठ पत्रकार रामसिंह बस्नेत, समाजका अध्यक्ष डा.बमबहादुर थापा ‘जिताली’,समाजकी सल्लाहकार साहित्यकार तथा पूर्वप्रोफेसर वीणा पौड्याल,साहित्यकार डा. अम्बिका अर्याल लगायतले सर्जक सुवेदीको उक्त पुस्तकको संयुक्त रूपमा विमोचन गरेका थिए।

विमोचन समारोहमा विमोचित पुस्तकको समिक्षा गर्दै सामालोचक रामसिंह बस्नेतले यस पुस्तकमा नेपाली समाजमा चल्दै आएका उखान टुक्काहरुलाई कवितात्मक शैलिमा प्रस्तुत गरिएकाले निकै पठनीय साथै रोमाञ्चक पनि भएको बताए ।सामालोचक बस्नेतले करिब १७२ वटा उखान टुक्काहरु समावेश गरिएको ६३ पृष्ठ लामो सो पुस्तकमा उखान टुक्काहरुलाई वर्णानुक्रम मिलाएर समावेश गरिएको जानकारी दिए ।
उनका अनुसार समसामयिकतालाई उजागर गरिएको उक्त पुस्तकमा सर्जकभित्र आदर्श समाज निर्माणको व्यग्र चाहना र देशमा विधिको शासन कायम हुनुपर्ने अपेक्षा गरिएको छ ।पुस्तकमा आदर्श समाज निर्माणमा धेरैको ध्यान आकृष्ट नभएको देखिएको भन्दै चिन्त र निराशा समेत व्यक्त गरेको पाइन्छ ।
तर पनि हरेक नेपालीले आदर्श समाज निर्माणको इच्छा भने छोड्न नहुने र भावी पुस्तामा समेत आर्दश राष्ट्र निर्माणको भावना जागृत हुने वातावरण तय गरिदिनु पर्ने भावको आवश्यक्ता पुस्तकमा औंल्याइएको छ।

साथै कार्यक्रममा समालोचक बस्नेतले नेपाली भाषा कत्तिको समृद्ध छ भनेर जान्न उखान टुक्कालाई हेर्दा हुने भन्दै उखान टुक्काले नेपाली भाषालाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए।
वि.सं.२०७५ सालमा पहिलो पटक ‘भावनाका सुसेली’कविता संग्रह प्रकाशन गरेका साहित्यकार सुवेदीका ‘यात्राका पाइला’(२०७८) पनि प्रकाशित भइसकेकाले ‘त्रिनेत्र’उनको तेस्रो कृति हो।

वि.सं. २००४ वैशाख १० गते पर्वतको ठुली पोखरीमा जन्मिएर काठमाडौंको रानीवनमा बस्दै आएका सुवेदीले आफ्नो ३५ वर्ष अध्यापन पेशामा विताएका छन्।इतिहास विषयमा बी.ए. सम्मको अध्ययन गरेका सुवेदी शिक्षातर्फको दीर्घ सेवा पदक(२०५५)बाट विभूषित भएका छन् ।
साथै उनले विभिन्न संघसंस्थाबाट अन्य सम्मान पनि प्राप्त गरेका छन् ।समारोहलाई सम्बोधन गर्दै सर्जक सुवेदीले पहिलो कृति प्रकाशित भएपछि आफूलाई थप लेख्ने उर्जा र यसका धेरैको साथ र सहयोग रहेकोले सबैप्रति कृतज्ञ भएको बताए ।उनले यस कृति विमोचनमा सहयोग पु¥याउने सबैप्रति आभार समेत व्यक्त गरेका छन् ।

साहित्यकार अध्यापक रामरञ्जन पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत साहित्यप्रेमीहरुको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो ।


छोरा रामबन्धु सुवेदीले प्रकाशन गरेको सो पुस्तकको मदन सुवेदी र रामप्रसाद जैशीले सम्पादन गरेका छन् ।
साहित्यको कविता विधामा लेखिएको यस पुस्तकको मूल्य व्यत्तिगत रुपमा रु. २०० र संस्थागत रुपमा रु. ३०० तोकिएको छ ।

