अन्तर्राष्ट्रिय सम्बन्ध समितिः अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित गरेको छ ।

समितिको आज बसेको बैठकले अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सकेर सर्वसम्मत पारित गरेको हो । सभापति राजकिशोर यादवले राष्ट्रियसभाबाट पारित भएको विधेयकको प्रतिवेदन अब प्रतिनिधिसभामा पेस हुने बताए ।

सो विधेयक स्वीकृत भएर पुनः राष्ट्रियसभामा लैजानुपर्ने छ । त्यसलाई प्रतिनिधिसभाले संशोधन गरेपछि राष्ट्रियसभाले स्वीकार गरेमा अध्यक्षबाट प्रमाणित भई राष्ट्रपतिकहाँ पठाइनेछ । विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बनेर कार्यान्वयनमा आउने प्रावधान छ ।