काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकढिक्का भएर बजेटको डिफेन्स गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले उत्पादन, उत्पादकत्व र रोजगारीमा केन्द्रित रहेको बजेटको प्रतिरक्षा गर्न सांसदहरूलाई निर्देशन दिएका हुन् ।
‘यसपालि बजेटलाई समाजवादतिर उन्मुख गराइयो । अर्थतन्त्र राजनीतिक स्थितिअनुसार बजेट सन्तुलित नै छ । धेरै मेहनत गरेर संसद्को अवरोधको व्यवस्थापन गर्यौँ । एकढिक्का भएर बजेटको डिफेन्स गरौँ’, प्रचण्डले साँसदहरुलाई भनेका छन् ।
बैठकमा अर्थमन्त्रीसमेत रहेका पार्टीका उपमहासचिव वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र वस्तुगत भएको टिप्पणी गरेका थिए ।
