काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरूमा लोडसेडिङ यथावत रहेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात थालेको भन्दै आपत्ति जनाएको छ ।
परिसंघले एक विज्ञप्ति जारी गर्दै विद्युतको अभावमा विगत तीन महिनादेखि उद्योगहरु मारमा परेको भन्दै उद्योगहरुमा विद्युतको अभाव भइरहँदा भारतलाई बिक्री गर्नु उपयुक्त नभएको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उद्योगहरूलाई पर्याप्त विद्युत् उपलब्ध गराएर बचत रहेको विद्युत् मात्रै निर्यात गर्न परिसंघ जोडदार माग गर्दछ ।’ स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउने काम भएको परिसंघको आरोप छ ।
विद्युत् उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन आग्रह गर्दै आएपनि प्राधिकरणले विद्युत् आयात गर्दा महँगो पर्ने तर्क गर्दै विद्युत् आयात नगरेको परिसंघ भनाइ छ ।
विद्युत् प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत् निर्यात गरेको जानकारी गराएको थियो ।
