मिस नेपाल २०२४ का फाइनलिस्ट घोषणा,प्रतियोगी अंक प्रदान 

काठमाडौं।मिस नेपाल २०२४ को उपाधिका लागि २६ फाइनलिस्ट घोषणा भएको छ।

हालै ललितपुरमा सम्पन्न पत्रकार सम्मेलनमार्फत २६ जना सुन्दरीले प्रतिस्पर्धा गर्ने जानकारी दिइएको हो।यसका लागि प्रतियोगी अंकसमेत प्रदान गरिएको आयोजकले जानकारी दिएका छन्। 

‘स्यास सेरेमोनी’मा छनोट सुन्दरीले आफ्नो परिचय दिँदै प्रतियोगी नम्बरबारे जानकारी गराएका थिए।प्रतियोगिताका लागि देशभरबाट डेढसय सुन्दरीले अडिसन दिएको आयोजकको भनाई छ।

प्रतियोगितामा द हिडन ट्रेजर आयोजको रुपमा रहेको छ।प्रतियोगितालाई विभिन्न संघसंस्थाले प्रायोजन गरेका छन् ।नेपालसहित डायस्पोराबाट समेत प्रतिस्पर्धी आएका छन्।

काठमाडौं,ललितपुर,पोखरा लगायत यसपटक दैलेख,कैलाली,म्याग्दी लगायतका ठाउँबाट समेत सुन्दरी छनोट भएका छन्।

फाइनलिस्ट प्रतियोगी घोषणासँगै अब सहविधाका प्रतिस्पर्धा आयोजना हुनेछन्।११ विधामा यसपटक सहविधा संचालन हुनेछन्।मिस नेपाल वल्र्ड,मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थको विधाका लागि सुन्दरीको प्रतिस्पर्धा हुनेछ।

मिस नेपालको अफिसियल अनलाइन पोर्टलको रुपमा अनलाइनखबर डटकम रहने र ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने भनिएको छ।