राप्रपाले अर्थमन्त्री खोजेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा बजेटमाथि धारणा राख्दा अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको छ।

मंगलबार बजेटमाथिको छलफलमा भाग लिने क्रममा अध्यक्ष लिङ्देनले बैठकमा अर्थमन्त्री खोजेका थिए। कांग्रेसको अर्जुन नरसिंह केसी,एमालेका गोकर्ण विष्ट,माओवादीका रामकुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले धारणा राखे।त्यसपछि बोल्न रोष्ट्रममा गएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने संसदमा अर्थमन्त्री वर्षमान पुनलाई नदेखेको भन्दै खोजी गरे।

उपसभामुख इन्दिरा राना मगरले अर्थमन्त्री वर्षमान पुन राष्ट्रिय सभा बैठकमा उपस्थित भएको जानकारी गराउँदै आफ्नो भनाइलाई अगाडि बढाउन अध्यक्ष लिङदेनलाई आग्रह गरिन्।

तर,उनले संसदमा अर्थमन्त्रीको उपस्थिति चाहिने अडान लिएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराए। सभामुख घिमिरेले संघीय संसदका दुवै बैठक सँगै बस्दा यस्तो समस्या देखिएको बताए।