
काठमाडौं। जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्था संसद्ले आफ्ना कामकारबाहीलाई यतिखेर निरन्तररुपमा अघि बढाएको छ ।
मुलुकको सङ्घीय संसद्मा पछिल्ला दिनमा आगामी आर्थिक वर्ष २०८१(८२ को बजेटको सैद्धान्तिक छलफलका साथै विभिन्न विधेयकमाथिका छलफलले निरन्तरता पाएको छ ।
संसदीय शासन प्रणालीमा नीति निर्धारण तथा कानुन निर्माणको कामको व्यवस्थापन संसद्कै कार्यविधिबाट हुन्छ । नीति निर्धारण तथा कानुन निर्माणमा दलहरु त्था सांसदहरुबीचको सघन संवाद र लोकतान्त्रिक विधिको उच्चतम प्रयोगले यी कार्यहरुमा उत्प्रेरणा पैदा गर्ने गर्दछ ।
जनताका प्रतिनिधिको स्वीकृतिबिना कुनै कर नलगाइने भन्ने सिद्धान्त रहेकाले पनि संसदीय गतिविधि, निर्णय र निर्देशनको अनिवार्यताको कल्पना संविधानले गरेको छ । यस सन्दर्भमा संसदीय गतिविधि निर्वाध सञ्चालन हुनु र जनसवालका विषयका साथै सरकारबाट प्रस्तुत नीति तथा कार्यक्रम, बजेट र विभिन्न विधेयकमाथि खुला छलफल हुनुले लोकतन्त्रको सौन्दर्यकै अभिवृद्धि गर्छ ।
दलहरुबीच मतैक्यता नहुँदा थालनीका दिनहरुमा बैठक सञ्चालन सहज हुन नसकेको सङ्घीय संसद्को चालु अधिवेशनका कामकारबाही अहिले निर्वाध बन्दै गएका छन् । आगामी आवको बजेट प्रस्तुतियता नियमित बैठकहरु र छलफल जारी रहेपछि सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत पदाधिकारी, राजनीतिक दलका नेता, सांसद र संसद् सचिवालयका कर्मचारी कार्यसूचीका आधारमा कार्यजिम्मेवारी सम्पादन गर्न व्यस्त देखिन्छन् ।
संसद्का बैठकका विशेष र शून्य समयमा सांसदहरुले आफूलाई लागेका जनजीवन र समसामयिक विषयमा विचार राख्ने क्रम जारी छ । सो क्रममा राजनीतिक छेडछाडको दोहोरी पनि चलेकै देखिन्छ । सहजरुपमा सञ्चालन भएका बैठकमा सांसदले राखेका विचारलाई जनताको सार्वभौमसत्ताको प्रयोगकै अवसरका रुपमा लिन सकिन्छ ।
यसबीचमा यही जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनबाट प्रस्तुत आगामी आर्थिक आर्थिक वर्ष २०८१÷८२ को बजेट ९राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य सैद्धान्तिक छलफल सम्पन्न भएको छ । दुवै सदनमा सांसदबाट सो विषयमा उठाइएका प्रश्नमाथि मन्त्री पुनले जवाफ दिइसकेका छन्।
मन्त्री पुनले विगत वर्षमा गरिएको आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने र बदलिँदो विश्व अर्थ व्यवस्थामा मुलुकको वस्तुगत आवश्यकताको दृष्टिकोण बजेटमा रहेको सुनाए। उनले उत्पादन र रोजगारका अवसर सिर्जना गर्ने उल्लेख गर्दै बजेटले समन्वयात्मक भूमिका निर्वाह गरी लक्षित राजस्व सङ्कलनमा सफलता मिल्ने विश्वास व्यक्त गरे।
