जसपा नेपालको महाधिवेशनको तयारी पूरा

धनुषा ।जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको  छ।

शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले यही जेठ २८ गतेदेखि जनकपुरमा हुने सो महाधिवेशनको तयारी पुरा भएको जानकारी दिए ।उनले महाधिवेशनमा देशभरबाट १ हजार ३ सय प्रतिनिधि सहभागी हुने बताए।

महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक,वैचारिक,नीतिगत दस्तावेज तयार भएको र तीन दिनसम्म व्यापक बहस तथा छलफलपछि आवश्यक परिमार्जनसहित पारित गरिने उनको भनाई छ।साथै नयाँ नेतृत्वका लागि जेठ ३० गते चुनावी प्रक्रिया सुरु गर्ने जसपाले जनाएको छ।जसपा नेपालले यस महाधिवेशनबाट पार्टी थप सशक्त भएर जनतामाझ जाने विश्वास लिएको छ ।

“सत्ता, शक्तिको प्रलोभनमा परेर केही साथीहरू पार्टीबाट चोइटिएर जानुभयो, निर्वाचन आयोगले समेत दबाबमा परेर उहाँहरूलाई सहज हुनेगरी पार्टी दर्ता गर्यो।यो अत्यन्त निन्दनीय र गलत कार्य हो।यसबाट विचलित नभई अब महाधिवेशनपछि थप सशक्त भएर अगाडि बढ्नु छ”, अध्यक्ष यादवले भनेका छन् ।

आफू विदेश रहेकै बेला षड्यन्त्रपूर्वक पार्टी फुटाउने काम भए पनि ९९ सय प्रतिशत नेता तथा कार्यकर्ताहरू मूल पार्टीमै रहेको उनको दाबी  छ ।