एमाले काठमाडौ जिल्ला कमिटिको नेतृत्व चयन निर्वाचनबाटै हुने निश्चित : तोकिएको क्लस्टर ढाँचानुसार उम्मेदवारी दर्ता

सीता पौडेल(अर्चना)

काठमाडौ।नेकपा (एमाले)काठमाडौ जिल्ला कमिटीको बबरमहल स्थित कार्की बैंकक्वेटमा जारी सातौं अधिवेशनमा आगामी नेतृत्व चयन निर्वाचनबाटै हुने भएको छ।

यसका लागि बन्द सत्रको दोस्रो दिन साँझ विभिन्न क्लस्टर तालिका सार्वजनिक गरेर उम्मेदवारी दरखास्त फारम वितरण गरेको एमाले काठमाडौंले निर्वाचन प्रकृया शुरु भएकोमा आज अधिवेशनको तेस्रो दिन सोमबार बिहान १० बजेबाट मध्यान्ह १२ बजेसम्मका लागि तोकिएको क्लस्टर अनुसार उम्मेदवारी दर्ता गरिएको जनाएको छ ।

निर्वाचन मण्डलका अनुसार दिउँसो २ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने र २ देखि ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका तय भएको छ ।त्यस्तै ३ बजेदेखि ४ः३० बजेसम्म उजुरी उपर छानवीन गरि अपरान्ह ५ बजे उम्मेदवारीको नामावली पुन : प्रकाशन गर्ने निर्वांचन कार्यतालिका रहेको एमाले जिल्ला कमिटि सदस्य एवं प्रचार विभाग प्रमुख सरोज ढकालले जानकारी दिएका छन्।

प्रमुख ढकालले ५ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने र ६ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने बताएका छन्।

वर्तमान अध्यक्ष दिपक निरौलाका अनुसार विद्युतीय मेसिन अर्थात (इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम)बाट मतदान गर्ने तयारी गरेको एमाले काठमाडौंले तोकिएको कार्यतालिका अनुसार निर्वाचन कार्यक्रम अगाडि बढाउँदै आज तेस्रो दिन सोमबार दिनभरजसो सर्वसम्मतिको प्रयासमा जुट्ने छ।

वर्तमान अध्यक्ष निरौला यस पटक पनि अध्यक्ष पदका आकांक्षी देखिएका छन् ।उनिसँगै काठमाडौं महानगर कमिटिका निवर्तमान अध्यक्ष निर्मल देउला पनि अध्यक्ष पदका लागि आकांक्षी छन् । अधिवेशनमा सर्वसम्मतीबाट नेतृत्व चयन हुन नसके भोलि मंगलबार मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने र मतदान सकिए लगतै मतगणना गरेर निर्वाचन परिणाम निकालिने तयारी रहेको निर्वाचन मण्डलको भनाई छ।

एमाले काठमाडौंले नयाँ नेतृत्व चयन र विजयी घोषणा पश्चात सोही दिन सपथ ग्रहण समेत गराउने तयारी गरेको  छ ।