
काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रश्नावलीअन्तर्गतको नतिजा अनुसार अधिकांश वडाको आम्दानीको स्रोत भूमि र मालपोत कर देखिएको छ । देशभर कूल ६ हजार सात सय ४३ वडा रहेकामा पाँच हजार दुई सय ९४ वडा अर्थात् ७८ दशमलव पाँच प्रतिशतको मुख्य राजस्वको स्रोत भूमि तथा मालपोत कर रहेको तथ्याङ्क कार्यालयले जनाएको छ ।
प्रमुख राजस्व स्रोतका रुपमा सेवा दस्तुर चार हजार छ सय ५८ वडा अर्थात् ६९ दशमलव एक प्रतिशत बराबर रहेको छ । सम्पत्ति कर तीन हजार छ सय आठ अर्थात् ५३ दशमलव पाँच, व्यवसाय कर तीन हजार पाँच सय ५६० वडा अर्थात् ५२ दशमलव आठ प्रतिशत रहेको देखिएको छ ।
घरबहाल कर दुई हजार दुई सय १५ वडा अर्थात् ३२ दशमलव आठ र घरजग्गा रजिस्ट्रेसन कर दुई हजार एक सय ६९ अर्थात् ३२ दशमलव दुई प्रतिशत रहेका छन् । दण्ड जरिवाना, सवारीसाधन, मनोरञ्जन र अन्य करसमेत रहेका छन् । तथ्याङ्क कार्यालयको प्रतिवेदनअनुसार देशभरका दुई हजार नौ सय अर्थात् ४३ प्रतिशत वडामा गैरकृषि उत्पादन हुने गरेको देखिएको छ ।
