बन्दीपुर केबलकार सञ्चालनमा

काठमाडौं ।तनहुँको बन्दीपुरमा केबलकार सञ्चालनमा आएको छ ।

उक्त केबलकार आज बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टीयूभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा बिहीबारदेखि सञ्चालनमा ल्याइएको बन्दीपुर केबलकारका कार्यकारी अधिकृत किरण पोख्रेलले जानकारी दिएका छन् ।

अधिकृत पोख्रेलका अनुसार पर्यटकीय आकर्षण बन्दीपुरमा १ वैशाखबाटै केबलकार आंशिक रुपमा चलाइएको भएता पनि बिहीबारदेखि व्यावसायिक सञ्चालनमा ल्याइएको हो ।तीन चरणमा परीक्षणकाल सकिएपछि कम्पनीलाई व्यावसायिक ‘अप्रेसन टीयूभी’ प्रमाणपत्र प्राप्त भएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिएका छन् ।

केबलकारबाट ९० डिग्रीको ठाडो चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने बताइएको छ।कम्पनीका अनुसार बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकार चोकबाट मन्दिरसम्म १ हजार ७ सय मिटरको दूरी ७ मिनेटमा पार गर्न सकिने छ ।यस्तै केबलकारको ३१ डिब्बामध्ये २१ वटाले यात्रु बोक्नेछन् भने अन्यले सामग्री ढुवानी गर्नेछन् ।

दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन गर्ने गरी केबलकार चलाइएको छ।सो केवलकार नेपालमा पछिल्लो पटक सञ्चालनमा आएको केबलकार हो ।

यसअघि मनकामना,चन्द्रागिरि,पोखरा,बुटवल,दोलखा र नवलपरासीमा केबलकार सञ्चालनमा आइसकेको छ ।