
रूपन्देही । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर तीन मजदुरको मृत्यु भएको छ।
घटनापछि आक्रोशित स्थानीयले मेयर विष्णुप्रसाद भुसालको घरमा ढुंगामुढा गरि तोडफोड गरेका छन्।पर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–२ स्थित फलफूल नजिक ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुर पुरिएका थिए।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार पुरिएकामध्ये कावासोती नगरपालिका–५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ वर्षीय चमेली दर्लामीको मृत्यु भएको हो।

ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा उनीहरु पुरिएको बताइएको छ।पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको डीएसपी पौडेलको भनाई छ।
घटनापछि स्थानीयले काममा ढिलाइ गरेको भन्दै मेयर भुसालको घरमा तोडफोड समेत गरेका थिए ।
