नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो–२०२४को तयारी पुरा,आज बिहान ९ बजे उद्घाटन गरिदै

सीता पौडेल(अर्चना)
काठमाडौं । नेपालमा आयोजना हुन गइरहेको ‘नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो (नाइट)–२०२४’ को सम्पूर्ण तयारी पुरा भएको छ ।

हिजो बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो नाइटको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था समिट इभेन्ट्सका प्रबन्ध निर्देशक तथा नाइटका संस्थापक÷संयोजक विष्णु पाण्डेले जानकारी दिए।उनका अनुसार नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको दुई दिने (जेष्ठ ३२ र असार १ गते (१४–१५ जुन २०२४) सो नाइटको आज शुक्रबार बिहान ९ बजे काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा उद्घाटन हुँदैछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री हितबहादुर तामाङले उद्घाटन गर्ने उक्त नाइटलाई काठमाडौं महानगरपालिकाले सहयोग गरेको छ।भने,नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र विभिन्न संघसंस्थाहरुले सहकार्य गरेका छन्।

नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बिटुबी र बिटुसी पर्यटन प्रदर्शनी बन्ने लक्ष्य राखेर आयोजना गरिएको नाइट,२०२४ बाट विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरूलाई दुई दिने नेटवर्किङमार्फत एकैठाउँमा ल्याउने,नयाँ सहकार्यलाई बढवा दिने र दिगो साझेदारी स्थापना गर्ने प्रमुख लक्ष्यलाई पुरा गर्ने आशा राखिएको संयोजक पाण्डेले बताएका छन्।सो पत्रकार सम्मेलनमा उनले यस इभेन्ट नेपालको पर्यटन प्रवर्द्धनका क्षेत्रमा एउटा कोशेढुंगा सावित हुनुका साथै नेपालमा आयोजना हुने यस्ता पर्यटकीय इभेन्टहरुको बहुआयामिक सान्दर्भिकता झल्काउने हँदा यो समग्र देशकै इभेन्ट भएको जिकिर गरे ।

विश्वका विभिन्न देशहरुमा भएका यस्ता इटेन्टमा नेपाली व्यवसायीहरुले भाग लिइरहेको भन्दै संयोजक पाण्डेले नेपालमा भएको यस इभेन्टमार्फत विभिन्न देशका मानिसहरुलाई एकै ठाउँमा ल्याउन सकिने र यसबाट नेपालको पर्यटन प्रवद्र्धनका लागि अन्तराष्ट्रिय स्तरमा नयाँ अवसरहरु सिर्जना गर्नुका साथै देशको आर्थिक,सामाजिक ,सांस्कृतिक र अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

देश तथा विदेशमा रहेका पर्यटन सम्बद्ध व्यवसायी (होटेल,रिसोर्ट,होमस्टे,ट्राभलरटुररट्रेकिङ र माउन्टेनियरिङ एजेन्सी,एयरलाईन्स)सरोकारवाला व्यक्ति तथा निकायलाई लक्षित गरिएको प्रदर्शनीमा न्यूनतम १६ देशका,१ सय ५० विक्रेता,२५० क्रेता तथा १ हजार भन्दा बढी आगन्तुकको सहभागिता रहने उक्त एक्सपोमा एजुकेशन पार्टनरका रुपमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट(नाथमा),हस्पिटालिटी पार्टनरका रुपमा द सोल्टी होटेल एण्ड रिर्सोट्र्स,ल्याण्डमार्क होटेल एण्ड रिर्सोट्र्स र रे–विन–टा रोयल अर्किड होटल्स रहेको जनाइएको छ ।

त्यस्तै डेस्टिनेशन पार्टनरका रुपमा चन्द्रागिरि हिल्स,हेल्थ पार्टनरका रुपमा हेम्स अस्पताल,फुड पार्टनरका रुपमा अटिक,डिजिटल पार्टनरका रुपमा खल्ती,ट्रान्सपोर्ट पार्टनरका रुपमा स्विफ्ट होलिडेज,ट्राभल पार्टनरमा एमडी एडभेन्चर र इन्टरनेट पार्टनरका रुपमा क्लासिक टेक रहेको आयोजकले जनाएको छ।

एक्सपोमा बिहार टुरिजम र टुरिजम मलेसियाको समेत सहभागिता रहने सो एक्सपोबाट संस्कृति र परम्पराको प्रवद्र्धन,अन्तर्राष्ट्रिय सम्बन्धको सुधृढिकरण तथा नेपालको ब्राण्डिङ र प्रचार प्रसार गर्ने हुँदा नेपालमा पर्यटकहरुलाई थप आर्कषित गर्न सकिने आँकलन गरिएको छ।

साथै विभिन्न  ३ वटा विषयमा प्यानल डिस्कसन गरिने हुँदा सो एस्सपोको माध्यमबाट पर्यटनको नीतिगत बहस गरि सृुधारमा सरोकारवालाहरुको धारणसहित दीगो पर्यटन विकासका लागि पैरवी गर्नाले नेपालको पर्यटन नीतिलाई समय सापेक्ष बनाउन नाइटले महत्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ ।