काठमाडौंका सार्वजनिक स्थानमा धूम्रपान,मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज,खुला मञ्चलाई खुला व्यायाम र खेलकुद स्थलका रूपमा विकास गरिदै

सीता पौडेल(अर्चना)

काठमाडौं।काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र धूम्रपान,मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने भएको छ।खुला मञ्चलाई खुला व्यायाम र खेलकुद स्थलका रूपमा विकास गर्ने पनि महानगरको नीति तथा कार्यक्रम रहेको छ।

आगामी आर्थिक वर्ष २०८१ ÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले धूम्रपान,मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने घोषणा गरेका हुन्।महानगरले जंक फुड प्रयोगलाई समेत निरुत्साहित गर्ने रणनीति पनि लिएको उनको भनाई छ।

महानगर क्षेत्र भित्रिने खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाने,स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचनाप्रविधिमा आधारित बनाउनने नीति महानगरले लिएको छ।

साथै मेयर बालेन्द्र शाह (बालेन)ले कामपा–३२ तीनकुनेमा रहेको जग्गाका लागि कामपाले बजेटको व्यवस्था गर्ने बताएका छन् ।त्यसैगरी,कामपा क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षणका लागि आवश्यक पहल गर्ने, न्युरोड, हाँडीगाउँ जस्ता प्राचीन क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाउने महानगरले नीति लिएको छ ।

यसैगरि महानगरले विश्व सम्पदा सूचीमा रहेका बौद्धनाथ र स्वयम्भूनाथलाई काठमाडौं महानगरपालिका अन्तर्गत ल्याएर सञ्चालन र व्यवस्थापन गर्ने र यस्ता सूचीकृत सम्पदा क्षेत्रहरूमा समेत सवारीसाधन निषेध गर्ने नीति तथा कार्यक्रम तय भएको महानगरले जनाएको छ ।

साथै शहरी गरिबी निवारणका लागि बहुआयामिक कार्यक्रम र नीति लिइने पनि महानगरले जनाएको छ।