
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पक्की तथा कच्ची एक सय टहरा हटाउने तयारी गरेको छ । कोषले तिलगंगा क्षेत्रका घर, टहरा हटाउने तयारी गरेको हो ।
तिलगंगा क्षेत्रमा यसअघि नै अधिग्रहण भइसकेका तर मुआब्जा लिएरपनि घर जग्गा खाली नगर्नेहरूका लागि कोषले १५ दिने सूचना जारी गरेको हो । सो क्षेत्रका झन्डै एक सय सङ्ख्याका पक्की तथा कच्ची घर टहरा हटाउन लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती अधिकारीले बताए।
पशुपति क्षेत्र विकास कोषको स्वीकृत अवधारणात्मक गुरुयोजना अनुसार सरकारले २०६९ भदौ ६ गते तिलगंगा आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनाहरू समेत स्थायी रूपले अधिग्रहण गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार २०७१ सालमा अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई मुआब्जा भुक्तानी भइसकेको कोषले बताएको छ ।
