एक सातामा सुनको मूल्यमा तीन हजार आठ सयको गिरावट

काठमाडौं । एक सातामा सुनको मूल्यमा तीन हजार आठ सयले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको प्रतितोला एक लाख ४५ हजार रुपैयाँ थियो ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख ४४ हजार ३०० रुपैयाँ कायम थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा एक लाख ४१ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा एक लाख ४० हजार ५०० रुपैयाँ कायम छ ।

यो साता आइतबारदेखि नै सुनको मूल्य घट्न थालेको थियो । शुक्रबारको तुलनामा तोलामा ४ हजार रुपैयाँले घटेको सुनको मूल्य सोमबार र मंगलबार स्थिर रह्यो । यस्तै, बुधबार ६०० ले बढेर बिहीबार पनि सोही मूल्य कायम रह्यो । शुक्रबार भने तोलामा ४०० रुपैयाँले घटेर एक लाख ४२ हजार २०० कायम भएको हो ।

यसैगरी यो साता चाँदीको मूल्यमा पनि गिरावट आएको छ । गत साताको शुक्रबार तोलामा १९ सय रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार १८ सय रुपैयाँमा आइपुग्यो । यो साता आइतबार तोलामा ७५ रुपैयाँले घटेर सोमबार सोही मूल्यमा बिक्री भयो । यस्तै मंगलबार १० रुपैयाँले घटेको चाँदी बुधबार ५ रुपैयाँले बढ्यो र बिहीबार र शुक्रबार १०–१० रुपैयाँले घट्यो ।