
काठमाडौं । आज काठमाडौं उपत्यकामा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने विभागका मौसमविद् सरोज पुडासैनीले बताए । उनका अनुसार आज अपराह्न र राति मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।
मौसमविद् पुडासैनीका अनुसार मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उनले बताए। शुक्रबारको तुलनामा आज आंशिकदेखि साधारणतया बदली हुनेछ।
आज यहाँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसबीच रहने विभागको पूर्वानुमान छ। शुक्रबार अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो।
