प्रतिनिधि सभाको बैठक बस्दैः सांसदहरुले खर्च कटौतीको प्रस्ताव पेश गर्ने

काठमाडौं । आज ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सांसदहरुले खर्च कटौतीको प्रस्ताव पेश गर्ने भएका छन् । बैठकमा विनियोजन विधेयक–२०८१ अन्तर्गत मन्त्रालयगत शीर्षकको छलफल हुने एक सांसदले बताए ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्नेछन् ।

सांसद रामहरी खतिवडाले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

डा. अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र अर्थ मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।