
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले १५ दिने सूचना जारी गरी घर टहरा खालि गर्न भनेपछि पशुपति क्षेत्रका स्थानीयहरू आन्दोलित भएका छन् ।
पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका लागि अधिग्रहणमा परेको जग्गाका जग्गाधनीहरूलाई ठाउँ खाली गर्न १५ दिने सूचना जारी गरेसँगै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
कोषले बस्ती स्थानान्तरण गर्ने भनेपनि जग्गा उपलब्ध नगराएको उनीहरुको जिकिर छ । स्थानीय दीपकप्रसाद गौतमले सो क्षेत्रका बासिन्दालाई अन्यत्र सार्नका लागि २०७१ सालमा गरेको निर्णय कार्यान्वयनमा नल्याएको बताए ।
अर्का स्थानीय आयुष श्रेष्ठले १५ दिनभित्र घर छोडेर जाने सूचना निकाले पनि कोषले जग्गा उपलब्ध नगराएसम्म आफूहरू कहीँ नजाने बताए ।
तीलगंगा -बि १३_ मा घरजग्गा अधिग्रहणमा परेका भण्डारी, बिसेटहरुलाई कोषको पूर्व नीतिअनुसार उमाकुण्ड -बि ३_ क्षेत्र र गोठाटार क्षेत्रमा घडेरी उपलब्ध गराउने भनी २०७१ साल असार १ गते निर्णय गरेको भएपनि हालसम्म जग्गा उपलब्ध गराउन सकेको छैन । असार १ गते कोषले ठाउँ खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।
