
काठमाडौं। आज निर्जला एकादशी, घर–घरमा तुलसीको बीउ राखेर निर्जला एकादशी मनाइएको छ।
प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको मठमा तुलसीको दल राख्ने गरिन्छ । तुलसीको दल राख्ने दिनलाई निर्जला एकादशी भनिन्छ । यस दिन राखेको दलबाट बनेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ ।कार्तिक शुक्ल एकादशीका दिन तुलसीलाई हुर्काइ बढाइ दामोदरसँग विवाह गरिदिने प्रचलन छ ।यो चार महिनालाई चर्तुमास भनिन्छ ।भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले यी चार महिनामा विवाह,व्रतबन्ध आदि गर्न नहुने शास्त्रीय मान्यता रहिआएको छ ।
