
काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले छाउपडी प्रथाका कारण महिला असुरक्षित रहेको बताएका छन् । छाउपडी प्रथालाई उन्मूलन गर्न बनाइएका नीति तथा कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
राष्ट्रियसभा बैठकको आइतबार विशेष समयमा सांसद रेणु चन्दले छाउपडी प्रथाले समाजिकरुपमा विकृति पैmलाएको र महिलामाथि विभेद भइरहेको बताइन् । छाउपडी प्रथा उन्मूलनसम्बन्धी कानुनी र नीतिगत व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेकामा उनले आपत्ति जनाइन् ।
“छाउपडीका बेला गोठमा बस्दा सर्पले टोकर मृत्यु भइरहेको छ, कतिपय बलात्कृत भएका छन्, विद्यालय जान सकिरहेका छैनन्”, सांसद चन्दले भनिन्, “यसरी मृत्युको मुखमा बसेर महिला कहिलेसम्म बस्नुपर्ने रु छाउपडी प्रथा उन्मूलनका लागि सरकारले पहल गर्नुपर्छ ।”
सांसद भगवती न्यौपानेले छाउपडी प्रथा उन्मूलनलगायत महिलामाथि हुने हिंसा अन्त्य हुनुपर्नेमा जोड दिइन् ।
