सीता पौडेल(अर्चना)
काठमाडौं ।“घुमौ नागार्जुन चिनौ नागार्जुन” भन्ने नाराका साथ नागार्जुन नगरपालिका वडा नं ७ मा भोलि असार १५ गते शनिबार विभिन्न सांस्कृतिक कार्यक्रम सहित पदयात्रा हुने भएको छ ।
नागार्जुन नगरभित्रका पर्यटकीय स्थलहरुलाई विश्वभर चिनाउने र पर्यापर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले सो पदयात्रा आयोजना गरिएको वडा नं ७ का वडा अध्यक्ष शैलेन्द्र लामाले बताए ।अध्यक्ष लामाका अनुसार नगरपालिकाले तय गरेको ‘समृद्ध नागार्जुनको आधार,पर्यटन सहितको पूर्वाधार र आवसीय नगर’ भन्ने नारालाई सार्थक तुल्याउन पनि सो पदयात्रा गर्न लागिएको हो।
यस पदयात्राले नागार्जुन नगरभित्रका पर्यटकीय गन्तव्य तथा संभावनाहरुको थप खोजि गरि प्रचार प्रसारमा टेवा प¥याउने आशा लिइएको उनको भनाई छ ।
पुरातात्विक सम्पदा,बस्ती,धार्मिक,ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरुको पहिचान गरि संरक्षण तथा सम्बद्र्धन गर्ने नगरपालिकाको नीति बमोजिम यस प्रकारको कार्यक्रमको आयोजना गरिएको जिकिर गर्दै अध्यक्ष लामाले नगरपालिका र जिल्ला समन्वय समितिसँगको समन्वय र सहकार्यमा उक्त पदयात्रा आयोजना गरिएको बताएका छन् ।
नगरपालिकाले पहिलो चरणमा वडा नम्बर ७ मा करिब २ कि.मी.दुरीको पदमार्ग निर्माण गरेको छ ।सोही पदमार्गमा नै उक्त पदयात्रा हुन लागेको हो।
सो पदयात्रामा नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेत,,उप–प्रमुख शुशिला अधिकारी लगायत नगरपालिकाको कार्यपालिकाका कर्मचारीहरु,जिल्ला समन्वय समितिका प्रतिनिधिहरु,विभिन्न स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु,विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने उनले बताए।साथै सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिहरु,वडाभित्रका विभिन्न उद्योग व्यवसायिहरु लगायतको पनि सो पदयात्रामा सहभागिता रहने अध्यक्ष लामाले जानकारी दिएका छन् ।
उक्त पदयात्रा बिहान ७ बजे वडा नम्बर ७ को न्यौपाने खोल्सीबाट शुरु हुने र खट्कीले चौर,विन्दवासिनी मन्दिर हुदै छापे चौर (स्वीजरल्याण्ड पार्क)सम्म पुग्ने तयारी रहेको अध्यक्ष लामाको भनाई छ ।
